बढ्दै बैंक तथा वित्तीय संस्थाको खर्चः ८ महिनामा तलब र कार्यालय सञ्चालनमा ६४ अर्ब ४३ करोड खर्चिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को माघ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले ६४ अर्ब ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरूको तलब भत्तामा ३९ अर्ब ८९ करोड ६० लाख र कार्यालय सञ्चालनको लागि २४ अर्ब ५४ करोड १० लाख रुपैयाँ खर्च गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले गरेको उक्त खर्च गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ३.८१ प्रतिशत अर्थात् २ अर्ब ३६ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको ८ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलब भत्तामा ३७ अर्ब ५३ करोड ५० लाख र कार्यालय सञ्चालनको लागि २४ अर्ब ५३ करोड ३० लाख रुपैयाँ गरी कुल ६२ अर्ब ६ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए ।
चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा वाणिज्य बैंकको खर्च मात्रै ५६ अर्बभन्दा बढी रुपैयाँ रहेका छ । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कर्मचारीको तलब भत्तामा ३४ अर्ब ९९ करोड ९० लाख र कार्यालय सञ्चालनको लागि २१ अर्ब ८ करोड रुपैयाँ गरी कुल ५६ अर्ब ७ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कर्मचारी तलब भत्तामा ३३ अर्ब ३ करोड ७० लाख र कार्यालय सञ्चालनको लागि २१ अर्ब २१ करोड गरी कुल ५४ अर्ब २४ करोड रुपैयाँ खर्च गरेका थिए ।
यता, विकास बैंकहरूको ८ महिनाको खर्च साढे ६ अर्ब रुपैयाँ रहेको छ । माघ मसान्तसम्ममा १७ विकास बैंकले कर्मचारीहरूको तलब भत्ताको लागि ३ अर्ब ८९ करोड २० लाख र कार्यालय सञ्चालनको लागि २ अर्ब ७५ करोड १० लाख रुपैयाँ गरी कुल ६ अर्ब ६४ करोड रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा विकास बैंकहरूले कर्मचारीहरूको तलब भत्ताको लागि ३ अर्ब ५७ करोड ८० लाख र कार्यालय सञ्चालनको लागि २ अर्ब ६५ करोड रुपैयाँ गरी कुल ६ अर्ब २३ करोड रुपैयाँ खर्च गरेका थिए ।
फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलबभत्ताको लागि १ अर्ब ५० लाख र कार्यालय सञ्चालनको लागि ७१ करोड १० लाख रुपैयाँ समेत गरी कुल एक अर्ब ७१ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलब भत्ताको लागि ९२ करोड र कार्यालय सञ्चालनको लागि ६७ करोड रुपैयाँ गरी कुल १ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका थिए ।











