एनआईसी एशिया बैंकका ४४ शाखा कार्यालय बन्द

काठमाडौं । एनआईसी एशिया बैंक ले देशका विभिन्न महानगरपालिका अन्तर्गत रहेका ४४ वटा शाखा कार्यालय समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ । बैंकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाएको जनाएको छ ।
बैंकका अनुसार सबैभन्दा धेरै शाखा काठमाडौं महानगरपालिका भित्र मर्ज गरिनेछ, जहाँ २६ वटा शाखा एकीकृत गरिँदै छन् । त्यस्तै ललितपुर महानगरपालिका र पोखरा महानगरपालिका मा ६–६ वटा, विराटनगर महानगरपालिका मा ३ वटा, वीरगञ्ज महानगरपालिका मा २ वटा र भरतपुर महानगरपालिका मा १ वटा शाखा मर्ज हुनेछन् ।
काठमाडौंमा नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजारका शाखा एकीकृत भएपछि कमलादी शाखाबाट सेवा दिइनेछ भने बोहोरा टार, माछापोखरी तथा ढुङ्गेधारा–नर्सरी चोकका शाखा बालाजु शाखामा समायोजन गरिनेछन् । त्यसैगरी न्यूरोड क्षेत्रका खिचापोखरी, भोटाहिटी र किलागल शाखा विशालबजार शाखामा गाभिनेछन् ।
तिनचुली र चाबहिल शाखा बौद्ध शाखामा समाहित हुनेछन् भने नरेफाट शाखा कोटेश्वरमा, बालुवाटार शाखा लाजिम्पाटमा र अनामनगर, शंखमुल तथा मध्य बानेश्वरका शाखा नयाँ बानेश्वर शाखामा गाभिनेछन् । खसीबजार शाखा कलंकीमा, कपन शाखा सुकेधारामा, गोंगबु शाखा सामाखुसीमा, सोह्रखुट्टे शाखा ठमेलमा र टेकु शाखा त्रिपुरेश्वर शाखामा समायोजन गरिने बैंकले जनाएको छ । साथै सिनामंगल, मित्रपार्क र कालोपुलका शाखा बत्तिसपुतली शाखाबाट सञ्चालन हुनेछन् ।
ललितपुरमा लगनखेल र मंगलबजार शाखा जावलाखेलमा गाभिनेछन् भने सानेपा र ग्वार्को शाखा सातदोबाटोमा समायोजन हुनेछन् । खोकना शाखा भने भैंसेपाटी शाखामा एकीकृत गरिनेछ ।
पोखरामा पावरहाउस चोक र बुढीबजार शाखा लेखनाथ शाखामा, बाझापाटन शाखा अमरसिंह चोक शाखामा तथा महेन्द्रपुल र बगर शाखा न्यूरोड पोखरा शाखामा समाहित गरिनेछन् । बिरौटा शाखा लेकसाइड शाखामा गाभिनेछ ।
भरतपुरको बसेनी शाखा हाकिम चोक शाखामा समायोजन गरिनेछ । विराटनगरमा मेनरोड र हाटखोल शाखा विराटनगर शाखामा गाभिँदा रानी मिल्स शाखा रोडशेष चोक शाखामा एकीकृत हुनेछ । त्यस्तै वीरगञ्जमा लिङ्ग रोड र पावरहाउस चोक शाखा आदर्शनगरस्थित वीरगञ्ज शाखामा समाहित भएर सेवा सञ्चालन हुने बैंकले जनाएको छ ।











