ग्राहकको खाताबाट १ करोड ६५ लाख गायब, बैंककै कर्मचारी पक्राउ

काठमाडौं । कपिलवस्तुमा बैंकिङ कसुरसम्बन्धी मुद्दामा बैंककै एक कर्मचारी पक्राउ परेका छन्। प्रहरीले बैंकिङ प्रणालीभित्र अनधिकृत रूपमा प्रवेश गरी ग्राहकका खाताबाट ठूलो रकम हिनामिना गरिएको आरोपमा बैंकका कर्मचारी २८ वर्षीय रिशभ कार्कीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ परेका कार्कीले विभिन्न मिति र समयमा बैंकको आन्तरिक प्रणालीभित्र प्रवेश गरेर केही ग्राहकको खातासँग जोडिएको मोबाइल नम्बर परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसपछि आफ्नै प्रयोगमा रहेको मोबाइल नम्बर ती खातामा जोडेर मोबाइल बैंकिङ तथा कनेक्ट आइपिएसमार्फत रकम स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यसरी बैंकका केही ग्राहकका खाताबाट १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा अन्यत्र सारिएको देखिएको छ। रकम स्थानान्तरण गर्दा ग्राहकलाई जाने कारोबार सम्बन्धी सूचना सन्देशसमेत नजाने अवस्था बनाएर नियोजित रूपमा रकम हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
यस घटनापछि इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले चैत ११ गते कपिलवस्तुको मायादेवी गाउँपालिका–१ बाट कार्कीलाई पक्राउ गरेको हो। प्रहरीले उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। यसका लागि उच्च अदालत तुल्सीपुर, बुटवल इजलासबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनापछि प्रहरीले सबै बैंक ग्राहकलाई आफ्नो खातासँग जोडिएको मोबाइल नम्बर, मोबाइल बैंकिङ र अन्य डिजिटल सेवा ठीक छ वा छैन भन्ने कुरा समयमै यकिन गर्न आग्रह गरेको छ। यस्ता प्रकारका सम्भावित वित्तीय ठगी वा अनधिकृत कारोबारबाट जोगिन बैंक खातासम्बन्धी विवरण नियमित रूपमा जाँच गर्न प्रहरीले अनुरोध गरेको हो।











