लगानीमैत्री वातावरणमार्फत समृद्धिको रोडम्याप प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बलियो सरकार बनेसँगै देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने अवसर सिर्जना भएको बताएका छन्। नेपाल उद्योग परिसंघसँग हिजो साँझ भएको भेटघाटमा उनले जनतामा ठूलो आशा र भरोसा रहेको उल्लेख गर्दै वर्तमान समयलाई देशको उन्नतिका लागि प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनका अनुसार निजी क्षेत्रले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता अहिले प्राप्त भएको छ र अब त्यसलाई आर्थिक विकासमा रूपान्तरण गर्ने बेला आएको छ।
अर्थमन्त्री वाग्लेले सरकारले बजेटमार्फत केही फरक ढंगले सम्बोधन गर्ने तयारी गरिरहेको जानकारी दिए। निजी क्षेत्रमैत्री आर्थिक वातावरण निर्माण गर्ने उद्देश्यले सरकारले पहिलो दिनमै १५ वटा कानुन खारेज गरेर सकारात्मक सन्देश दिएको उनले बताए। यसबाट सरकार र सत्तारूढ दल निजी क्षेत्रप्रति उदार र सहयोगी रहेको स्पष्ट भएको उनको भनाइ थियो।
उनले उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिइएको उल्लेख गर्दै उदारताको अर्थ छाडा अवस्था नभएको प्रष्ट पारे। ‘निजी क्षेत्रका साथीहरू इमानदारीपूर्वक उद्योग र व्यापार गर्नुस्, हामी दिल खोलेर सहयोग गर्छौं’ उनले भने।
भेटघाटमा अर्थमन्त्रीले नमूना औद्योगिक पार्क निर्माण गर्ने योजना अघि बढाइने जानकारी दिँदै त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बताए। साथै, कुनै बहुराष्ट्रिय ठूलो कम्पनी वा लगानी भित्र्याएर लगानीमैत्री वातावरण सुदृढ बनाउन पहल गर्न आग्रह गरे।
उनले स्वदेशी, ठूला तथा बहुराष्ट्रिय कम्पनीहरूको लगानी सुरक्षाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै सबैखाले सहयोग उपलब्ध गराइने स्पष्ट पारे।











