ओली पक्राउविरुद्ध एमालेको देशव्यापी शक्ति प्रदर्शनः चैत २४ देखि आन्दोलन, वैशाख १२ विशाल सभा

काठमाडौँ । केपी शर्मा ओली पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध रूपमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो । महासचिव शंकर पोखरेल का अनुसार चैत २४ गतेदेखि विभिन्न तहका कमिटीमार्फत देशभर प्रदर्शन सुरु गरिनेछ ।
निर्णयअनुसार पहिलो चरणमा चैत २४ गते सबै जिल्ला कमिटीहरूले वृहत् कार्यकर्ता भेला आयोजना गर्नेछन् । त्यसपछि आन्दोलनलाई क्रमशः स्थानीय तहसम्म विस्तार गर्दै पालिका, वडा र प्रदेशस्तरमा प्रदर्शन कार्यक्रम सञ्चालन गरिनेछ ।
पार्टीले वैशाख ३ गते वडा तहमा भेला आयोजना गर्ने तथा वैशाख ७ गते प्रदेश राजधानीहरूमा विरोध प्रदर्शन गर्ने तालिका तय गरेको जनाएको छ ।
यस्तै, अन्तिम चरणमा वैशाख १२ गते काठमाडौँमा केन्द्रित भएर ठूलो विरोध सभा तथा प्रदर्शन आयोजना गरिने एमालेले जनाएको छ ।











