डोटीको विकास एजेन्डा बोकेर खड्काले राखे प्रधानमन्त्रीसमक्ष १२ माग, जलविद्युत् र सडक प्राथमिकतामा

१७ चैत्र २०८२, मंगलवार १६:१९

काठमाडौँ । भरत बहादुर खड्काले डोटी केन्द्रित समस्याहरू समाधानका लागि बालेन्द्र शाह समक्ष १२ वटा महत्वपूर्ण माग प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलका लागि बोलाएको बैठकमा खड्काले डोटी जिल्लाको विकास, पूर्वाधार विस्तार, कृषि, पर्यटन तथा सेवा प्रवाहसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ उठाएका हुन् ।

उनले डोटीको समग्र आर्थिक रूपान्तरणका लागि सेती जलविद्युत् परियोजनालाई शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै कैलालीको खुटिया–दिपायल हुँदै बझाङको उरे भञ्ज्याङमार्फत चीनको सीमासम्म जोडिने फास्टट्र्याक सडक निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरेका छन् । त्यस्तै, कैलाली, डोटी, अछाम हुँदै बाजुरासम्म जोड्ने सेती लोकमार्ग निर्माण कार्यलाई तीव्रता दिनुपर्ने र डोटीको सहजनपुर–बोगटान सडकखण्डमा बाँकी रहेको कालोपत्रे कार्य तत्काल सम्पन्न गर्नुपर्ने माग पनि उनले राखेका छन् ।

डोटीको दिपायल, दिब्य, आदर्श हुँदै सायलको सीमासम्म पुग्ने सडकमा हालसम्म अधुरो रहेको कालोपत्रे कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले शिखर नगरपालिकास्थित सेती नदीमा निर्माणाधीन पक्की पुल १२ वर्षसम्म पनि सम्पन्न नभएको भन्दै सातनाली सडक अन्तर्गत उक्त पुल निर्माण कार्यलाई शीघ्र टुंग्याउनुपर्ने बताएका छन् ।

कृषि उत्पादन वृद्धि गर्न पर्याप्त सम्भावना हुँदाहुँदै पनि सिंचाइको अभावका कारण किसान मारमा परेको उल्लेख गर्दै उनले डोटीमा व्यापक रूपमा सिंचाइ सुविधा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

त्यसैगरी, डोटीलाई सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गरी पर्यटनलाई रोजगारीसँग जोड्ने दीर्घकालीन योजना ल्याउनुपर्नेमा उनले जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी सार्दा डोटीमाथि अन्याय भएको उल्लेख गर्दै त्यसको न्यायोचित सम्बोधन गर्न सरकारसँग आग्रह गरेका खड्काले शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच र गुणस्तर दुवै विस्तार गर्नुपर्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*