इमानदारलाई पूर्ण साथ, बेइमानीमा निर्मम कारबाहीः अर्थमन्त्री वाग्ले

१८ चैत्र २०८२, बुधबार ११:००

काठमाडौँ । डा. स्वर्णिम वाग्ले ले नेपाललाई “गरिखाने मान्छेहरूको देश”का रूपमा चिनाउने गरी अर्थतन्त्रको दिगो विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मङ्गलबार नेपाल चेम्बर अफ कमर्श का पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँग सहकार्यलाई अझ सुदृढ बनाउँदै आर्थिक गतिविधिलाई तीव्रता दिने बताएका हुन्।

उनले राज्य र निजी क्षेत्रबीच विश्वास र सहकार्यको नयाँ आधार निर्माण गर्न आवश्यक रहेको औँल्याए। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई ढुक्क भएर व्यवसाय विस्तार गर्न आग्रह गर्दै राज्यले आवश्यक सहजीकरण गर्ने स्पष्ट पारे। ‘तपाईंहरूलाई उँड्ने, फैलने सुविधा राज्यले दिन्छ, देश बनाउने हुटहुटी बोकेर आएका छौँ’ उनले भने, ‘अर्थतन्त्र बलियो बनाउन सबै मिलेर हातेमालो गरौँ।’

उनले इमानदार उद्योगी–व्यवसायीहरू कानुनी जटिलताका कारण अनावश्यक रूपमा बदनाम हुने अवस्था अन्त्य गरिने पनि बताए। रोजगारी सिर्जना गर्ने उद्यमीलाई राज्यका कारण कुनै पनि प्रकारको दुःख–हैरानी नपर्ने ग्यारेन्टी गर्दै उनले व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।

उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि राज्यले गर्नुपर्ने आवश्यक सुधारबारे निजी क्षेत्रबाट सुझाव माग्दै वाग्लेले ‘अर्थतन्त्र बनाउन राज्यले के गर्नुपर्छ भन्नुस्, हामी तयार छौँ’ भने। त्यससँगै उनले निजी क्षेत्रलाई पनि इमानदार भएर काम गर्न आग्रह गरे।

उनले देशको सर्वाङ्गीण विकासका लागि सबै पक्ष एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउँदै आर्थिक स्थायित्व र समृद्धिका लागि साझा प्रयास अपरिहार्य रहेको बताए।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रप्रति राज्यको पूर्ण समर्थन रहने स्पष्ट पार्दै भने, ‘निजी क्षेत्र इमानदार भइदिनुस्, राज्यले दिलोज्यान दिएर सहयोग गर्छ म त्यसको जिम्मा लिन्छु।’ तर नियोजित गल्ती र बेइमानीप्रति सरकार कठोर हुने चेतावनी पनि उनले दिए।

त्यसैगरी, नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रको चिन्ताप्रति आफू सचेत रहेको उल्लेख गर्दै उनले यो प्रक्रिया तत्काल नहुने धारणा व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*