सरकारी कार्यशैलीले कर्मचारी हतोत्साहित, मनोबल लुछेर नतिजा निकाल्न सकिएला ?

१८ चैत्र २०८२, बुधबार १२:११

काठमाडौं । फागुन २१ मा सम्पन्न भएको निर्वाचनपछि नयाँ सरकार बनेको आज छ दिन मात्रै हुँदैछ तर सिंहदरवारभित्रै कर्मचारीहरू हतोत्साहित र आतंकित मानसिकता लिएर कुर्सीमा बसिरहेका छन् । राजनीतिक पार्टीहरूले मच्चाएको ब्रम्हलूट, भ्रष्टाचार र विकृतिको अपजसको भारी थोपरेर मन्त्री र सांसदहरूले कर्मचारीहरूको हूर्मत लिने प्रयास गरेपछि सरकारको आगामी भविष्यमाथि नै प्रश्न चिन्ह उठ्ने गरी प्रभाव परिरहेको छ ।

बीमापोष्टको सम्पर्कमा आएका सिंहदरवारभित्रका कैयौं कर्मचारीहरूले कामै गर्न नसक्ने गरी हतोत्साहित भई मनोबल गुमाएर सही र गलत छुट्याउनै नसक्ने अवस्थामा पुगेको गुनासो गरेका छन् । कर्मचारीहरूलाई काम गर्ने, ठगी गर्ने, घूस खाने, भ्रष्टाचार गर्ने, सेटिङ गर्ने भाष्य जबरजस्ती थोपरेका कारण आम कर्मचारीहरूको मनोबल गुमेको मात्रै छैन शान्ति र अमनचयन नै गुमेको अवस्था छ ।

सिंहरदवारभित्रको कर्मचारी संयन्त्र स्थायी सरकार पनि हो । देश आजको अवस्था आउनुमा स्थायी सरकार पनि शतप्रतिशत दोषी छ तर मूल राजनीतिक नेतृत्व दूषित भएका कारण कर्मचारी मार्फत गराइएको भ्रष्टाचार नयाँ राजनीतिक नेतृत्वले नीतिगत तहबाट सफा गर्नु पर्नेमा डर, त्रास, आतंक सिर्जना गर्ने र हूर्मत लिने जस्ता कार्यले सबै कर्मचारीहरूको मनोबल खस्किन पुगेको छ । एक पूर्वप्रशासकले बीमापोष्टसँग प्रतिक्रिया दिंदै भने, “अहिले सबैतिर आतंक, त्रास र अन्योलता छ । व्यवसायीहरू पनि आतंकित नै छन् । कर्मचारीहरू झनै आतंकित छ । यस्तो अवस्थामा हामीले धारणा राख्दा उल्टै हामीलाई पनि टार्गेट गर्न बेर छैन ।”

“कर्मचारीमाथि मन्त्री र सांसदहरूले गर्ने व्यवहार नसुध्रने हो भने धेरै इमान्दार कर्मचारीहरू राजीनामा गरेर घर जान्छन् ।” एक अधिकृतले बीमापोष्टसँग गुनासो पोखे । प्रधानमन्त्री बालेन शाहले केही दिन पहिले सबै सचिवहरूलाई राखेर गरेको ब्रिफिङमा पनि काम नगर्ने कर्मचारीहरूलाई राजीनामा दिन लगाउने चेतावनी दिएका थिए तर प्रश्न यो छ कि एकै पटक सयौं कर्मचारीहरू राजीनामा दिएर घर गए भने सरकार कसरी अघि बढ्छ ? किनभने अहिले नेपाल सरकारले दिइरहेको तलव सुविधामा कर्मचारीहरूले निकै दुःख खेपेर जीवनयापन गरिरहेका छन् । त्यही सिंहरदवार, त्यही कर्मचारी प्रशासनभित्र केही काम नगर्ने, हाटा गर्ने खालका कर्मचारी भएपनि हजारौं इमान्दार, मेहनती र केही गरौं भनेर आशा गरिरहेका कर्मचारीहरू पनि छन् ।

अझ गम्भीर चिन्ताको बिषय के छ भने भ्रष्टाचारी कर्मचारीहरू मात्रै त्रुसित हुनु पर्नेमा इमान्दार कर्मचारीहरू समेत राजीनामा गर्नु पर्ने मानसिकतामा पुग्नु नयाँ सरकारको लागि चुनौतीपूर्ण हुन सक्नेछ । आज प्रश्न उठेको छ, कर्मचारीको हूर्मत लिएर मात्रै सुधार हुन्छ कि नेताहरूमा भिजन र देश हाँक्ने नीति पनि चाहिन्छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*