३जी बन्द गर्दै नेपाल टेलिकम, निःशुल्क सिम अपग्रेड गर्न ग्राहकलाई आग्रह

काठमाडौं । नेपाल टेलिकम आफ्नो थ्रिजी सेवा क्रमशः बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ । प्रविधिमा आएको परिवर्तनसँगै उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले थ्रिजी सेवा हटाएर फोरजीलाई व्यापक बनाउने तयारी गरेको हो ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार निकट भविष्यमा थ्रिजी सेवा चरणबद्ध रूपमा बन्द गरिनेछ । यससँगै थ्रिजी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई फोरजीमा रूपान्तरण हुन आग्रह गरिएको छ । ग्राहकलाई यसबारे जानकारी दिन भ्वाइस कल र एसएमएसमार्फत सूचना पठाउने कामसमेत सुरु भइसकेको टेलिकमले जनाएको छ ।
हाल थ्रिजी सिम प्रयोग गरिरहेका ग्राहकहरूले आफ्नो पुरानो सिमलाई निःशुल्क रूपमा फोरजी सिममा परिवर्तन गर्न सक्नेछन् । यसका लागि ग्राहकले आफू नजिकको टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
सिम परिवर्तन गर्दा ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्रजस्ता आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
थ्रिजीको तुलनामा फोरजी प्रविधि आधुनिक र उच्च गतिको हुने भएकाले मोबाइल इन्टरनेटको गति तथा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने विश्वास कम्पनीको छ । साथै, फोरजीमा रूपान्तरण भएपछि ग्राहकहरूले उच्च गुणस्तरको भोल्टी सेवा समेत सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।
ग्राहकहरूले आफ्नो सिम फोरजीमा आधारित छ वा छैन भन्ने जानकारी लिन ४४४# डायल गर्न सक्नेछन् । सोही कोडमार्फत फोरजी सेवा सक्रिय गर्न तथा भोल्टी सेवा सञ्चालन गर्न सकिने जानकारी टेलिकमका प्रवक्ता रविन्द्र मानन्धर ले दिएका छन् । टेलिकमले ग्राहकहरूलाई ढिलाइ नगरी सिम अपग्रेड गरी आधुनिक डिजिटल सेवाको लाभ लिन आग्रह गरेको छ ।











