२ करोड ९३ लाख घोटाला: तत्कालीन मालपोत अधिकृत मिश्रसहित पाँचविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

१८ चैत्र २०८२, बुधबार १७:०८

काठमाडौं । दुई करोड ९३ लाख रुपैयाँभन्दा बढी राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मालपोत कार्यालय नक्सालमा आर्थिक वर्ष २०७०/७१ मा ठूलो परिमाणमा राजस्व हिनामिना गरिएको पाइएको छ। अनुसन्धानका क्रममा रजिस्ट्रेशन शाखा ‘ग’ बाट एउटै नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रजिस्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरिएको तथ्य फेला परेको हो।

अभियोगपत्रमा दर्ता किताबमा एउटै नम्बरका लिखतहरू प्रविष्ट गरिए पनि सम्बन्धित राजस्व रसिदहरूसँग तुलना गर्दा कम रकम देखाइएका लिखत मात्र पेश गरिएको र बढी राजस्व लाग्ने लिखतहरू लुकाइएको उल्लेख छ। यसरी उच्च राजस्व लाग्ने लिखतहरू लुकाएर राजस्व हिनामिना गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

यस्तै, केही लिखतबाट प्राप्त राजस्व रकम बैंकमा दाखिला गरिएको देखिए पनि वास्तविक उच्च राजस्व भएका लिखतहरू दर्ता किताबमा समावेश नगरी रकम हिनामिना गरिएको पाइएको छ। आन्तरिक तथा अन्तिम लेखापरीक्षण नगरी यस्तो अनियमितता गरिएको समेत अनुसन्धानले देखाएको छ।

अनुसन्धान अनुसार उक्त आर्थिक वर्षमा करिब २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बराबरको राजस्व हिनामिना भएको ठहर गरिएको छ। सो प्रकरणमा संलग्न कर्मचारीहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*