आजदेखि सङ्घीय संसदको अधिवेशन, चैत २२ गते सभामुख चयन गरिने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरू हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक दिउँसो २ बजे एकसाथ बस्नेछ। प्रतिनिधि सभाको बैठक निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्षमा बस्ने तय भएको छ।
जेनजी आन्दोलनको बलमा निर्वाचन सम्पन्न भएपछि करिब सात महिनापछि दुवै सदनको अधिवेशन एकैपटक शुरू हुन लागेको हो। अधिवेशनको पूर्वसन्ध्यामा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले पहिलो बैठकको कार्यसूची र सभामुख चयन प्रक्रिया अघि बढाउने विषयमा सहमति गरेको छ।
प्रतिनिधि सभाको पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ। साथै मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको जानकारीपत्र पनि सभामा प्रस्तुत गरिनेछ। नयाँ नियमावली तयार नभएसम्म पुरानै नियमावलीअनुसार कामकारबाही अघि बढाउने प्रस्ताव पनि बैठकमा पेस हुने भएको छ। सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलका सदस्य मनोनयन गर्ने कार्यसूचीसमेत राखिएको छ।
संसद् अधिवेशन नभएको अवधिमा जारी भएका प्रतिनिधि सभा सदस्य निर्वाचन, नेपाल विशेष सेवा र मतदाता नामावलीसम्बन्धी तीन अध्यादेश पनि पहिलो बैठकमा पेस गरिनेछन्। सभामुख चयन प्रक्रिया पनि पहिलो बैठकबाटै औपचारिक रूपमा शुरू हुने भएको छ। दलीय समझदारीअनुसार चैत २० गते मनोनयन दर्ता र चैत २२ गते सभामुख चयन गर्ने तयारी गरिएको छ।
संविधानअनुसार सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुनु पर्नेछ भने दुवै पद फरक दल र फरक लिङ्गबाट हुनुपर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद (डिपी) अर्याललाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ भने उपसभामुखबारे भने कुनै सहमति जुटिसकेको छैन।











