राष्ट्र बैंकले २ वर्षपछि सञ्जीवनी लघुवित्तलाई समस्याग्रस्तबाट हटायो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदै पुनः नियमित कारोबार सञ्चालन गर्न अनुमति दिएको छ। दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको उक्त लघुवित्तले अब प्रचलित कानुन र नियामकीय निर्देशनअनुसार सर्वसाधारणसँग वित्तीय कारोबार गर्न पाउने भएको हो।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले चैत १९ गते सार्वजनिक सूचना जारी गर्दै चैत ५ गतेको निर्णयअनुसार संस्थालाई समस्याग्रस्त अवस्थाबाट मुक्त गरिएको जानकारी दिएको हो। यससँगै करिब साढे दुई वर्षपछि संस्थाले सामान्य सञ्चालनमा फर्कने बाटो खुलेको छ।
यसअघि संस्थामा गम्भीर अनियमितता देखिएको भन्दै राष्ट्र बैंकले २०७९ भदौ २२ गते नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो। सो अवधिमा नियामकले व्यवस्थापनमा हस्तक्षेप गर्दै सुधारका विभिन्न उपायहरू लागू गरेको थियो।
निरीक्षणका क्रममा संस्थाका सञ्चालक तथा पदाधिकारीहरूबाट ऋण दुरुपयोग भएको तथ्य बाहिरिएको थियो। नक्कली ऋणी खडा गरी व्यक्तिगत फाइदाका लागि कर्जा प्रवाह गरिएको भेटिएपछि राष्ट्र बैंकले कडाइका साथ कारबाही अघि बढाएको थियो।
यसअघि नै राष्ट्र बैंकले २०७८ मै सुधारात्मक कारबाही प्रक्रिया अघि बढाउँदै स्पष्टीकरण मागेको थियो। तर संस्थाको जवाफ सन्तोषजनक नदेखिएपछि समस्याग्रस्त घोषणा गरिएको थियो। पछिल्लो सुधार प्रक्रिया सफल भएपछि नियामकले संस्थालाई पुनः नियमित कारोबारमा फर्कन अनुमति दिएको हो।











