घट्यो महङ्गी, उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत

१९ चैत्र २०८२, बिहीबार १७:२६

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (विपीसीआई) ३.६२ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यो ३.७५ प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत, जबकि गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ३.३४ प्रतिशत र ३.९७ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहमा तरकारी उप–समूहको मूल्य ११.४९ प्रतिशतले बढेको छ। त्यस्तै, घ्यू–तेल ९.८६ प्रतिशत, फलफूल ९.६३ प्रतिशतले वृद्धि भयो। दाल–गेडागुडी उप–समूहको मूल्य ३.६६ प्रतिशत, खाद्यजन्य पदार्थ २.१८ प्रतिशत र मरमसलाको २.०३ प्रतिशतले घटेको देखिएको छ।

गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा उप–समूहको मूल्य २२.८१ प्रतिशतले बढेको छ। शिक्षाको मूल्य ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत, कपडा–जुत्ताचप्पल ४.७३ प्रतिशत, सुर्तीजन्य पदार्थ ३.५७ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवाको मूल्य ०.०३ प्रतिशतले घटेको छ।

क्षेत्रीय हिसाबले, ग्रामीण क्षेत्रमा वार्षिक मुद्रास्फीति ३.०६ प्रतिशत, सहरी क्षेत्रमा ३.८२ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा कोशी प्रदेश ३.९६ प्रतिशत, मधेश ४.९५ प्रतिशत, बागमती ३.३१ प्रतिशत, गण्डकी २.८७ प्रतिशत, लुम्बिनी ४.२१ प्रतिशत, कर्णाली २.२१ प्रतिशत र सुदूरपश्चिम २.२५ प्रतिशतको मुद्रास्फीति देखिएको छ।

भौगोलिक हिसाबले काठमाडौं उपत्यकामा ३.६४ प्रतिशत, तराई ४.११ प्रतिशत, पहाड ३.११ प्रतिशत र हिमाल २.८३ प्रतिशतको मुद्रास्फीति रहीसकेको छ।

आर्थिक वर्ष २०८२/८३ का आठ महिनाको औसत मुद्रास्फीति २.१३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षकै सो अवधिको औसत ४.७२ प्रतिशतभन्दा कम हो।

मुलतः तरकारी, घ्यू–तेल, फलफूलको मूल्य वृद्धि भए पनि दाल, खाद्यजन्य र मरमसलाको मूल्य घट्नुले समग्र मुद्रास्फीतिलाई नियन्त्रणमा राखेको देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*