तेलको मूल्यमा फेरि झड्का: पेट्रोल २०२, डिजेल १८२ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। भारतबाट हरेक १५ दिनमा प्राप्त हुने नयाँ मूल्य सूचीअनुसार निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।
नयाँ समायोजित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
यद्यपि, एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। मूल्य वृद्धि गरेपछि पनि निगम घाटामै रहेको बताइएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ, डिजेलमा प्रतिलिटर १२० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा भइरहेको छ।
मूल्य समायोजनपछिको अवस्थालाई हेर्दा निगमलाई अझै पनि पाक्षिक रूपमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र भारतीय आपूर्तिकर्ताबाट आएको नयाँ दरकै आधारमा मूल्य समायोजन गर्नुपरेको स्पष्ट पारेको छ।











