नयाँ सरकारलाई पुँजी बजारको रातो झण्डा, माफिया बाहिरिंदा बजार प्रभावित हुन थालेको हो ?

२० चैत्र २०८२, शुक्रबार १२:१७

काठमाडौँ । दुई तिहाई नजिकको सरकार गठन भएपछि नेपाली पुँजी बजारले हरियालीको आशा गरेको थियो । राजनीतिक अस्थिरताको लामो समयपछि स्थायी सरकार आउँदैछ भन्ने अपेक्षाले बजारमा सकारात्मक संकेत देखाउने अनुमान गरिएको थियो । तर, बालेन शाह नेतृत्वको नयाँ सरकार सत्ताको बागडोर सम्हालेको पाँच दिनमै शेयर बजारमा विपरीत प्रतिक्रिया देखिएको छ । पाँचै दिन लगानीकर्ताका लागि चुनौतीपूर्ण बनेका छन् ।

सरकार गठनपछिको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा भारी गिरावट देखियो । बजार खुलेदेखि नै निरन्तर ओरालो लाग्दै नेप्से ७१.०५ अंकले घटेर २ हजार ८७९ विन्दुमा बन्द भएको थियो । यस दिन २५५ कम्पनीका शेयरमूल्य घटेका थिए भने १० वटा मात्र बढेका थिए । कुल कारोबार रकम १५ अर्ब ३ करोडमा सीमित रह्यो । बजारमा आएको यो गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनायो । राजनीतिक स्थिरताको प्रत्याभूति भए पनि बजारले तत्काल सकारात्मक प्रतिक्रिया नदिँदा लगानीकर्तामा निराशा फैलियो ।

दोस्रो दिन सोमबार पनि बजारमा गिरावट जारी रह्यो । नेप्से ४७.७१ अंकले घटेर २ हजार ८३१ विन्दुमा पुग्यो । कारोबार रकम पनि घटेर १२ अर्ब ९६ करोडमा सीमित रह्यो । २३७ कम्पनीका लगानीकर्ताले मूल्य घट्यो । लगातार दुई दिन गिरावट देखिएपछि लगानीकर्तामा थप तनाब बढ्न थाल्यो ।

तेस्रो दिन मंगलबार भने नेप्से परिसूचकले सुधारको संकेत देखायो । नेप्से १९.७० अंकले बढेर २ हजार ८५१ विन्दुमा पुगेको थियो । तर, कारोबार रकम घटेर ११ अर्ब ११ करोडमा सीमित रह्यो । बजारमा आएको यो सुधार अस्थायी सावित भयो ।

बुधबार नेप्से परिसूचक फेरि उच्च अंकले घट्यो । ७४.७३ अंकले घटेर २ हजार ७७६.३६ विन्दुमा बन्द भएको यो दिन १२ अर्ब १० करोड ९५ लाखको कारोबार भएको थियो । १३ कम्पनीका शेयरमूल्य बढ्दा २५५ कम्पनीका शेयरमूल्य राताम्य भयो ।

बिहिबार भने नेप्से ५.८२ अंकले बढेर २ हजार ७८२.१८ विन्दुमा कायम रह्यो । ३२८ कम्पनीका शेयरको २ करोड १३ लाख १८ हजार कित्ता किनबेच हुँदा ८ अर्ब ८१ करोडको कारोबार भएको थियो । ९८ कम्पनीको शेयर मूल्य बढ्दा १५८ कम्पनीको घटेको थियो ।

सरकारलाई रातो झण्डा, माफिया बाहिरिदा गिरावट!

नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेले कार्यभार सम्हाले देखि नै बजारमा सकारात्मक प्रभाव देखिएको छैन । वाग्ले जस्ता विज्ञ अर्थशास्त्री र अनुभवी व्यक्तिलाई स्वागत गर्ने अपेक्षा राखिएको भए पनि उनको पदभार ग्रहण पछि शेयर बजारमा स्पष्ट प्रतिक्रिया नआएकोले लगानीकर्तामा निराशा बढेको विश्लेषकहरूले बताएका छन् । पुँजी बजारलाई स्थिर बनाउने दृष्टिकोणमा सरकारले अझै स्पष्ट र ठोस प्रतिबद्धता देखाउन सकेको छैन । सरकारको १०० दिने कार्यसूचीमा पनि पुँजी बजारसम्बन्धी नीति समावेश नभएकाले लगानीकर्ताले पर्ख र हेरको अवस्थामा रहनु परेको छ ।

हालको अवस्थामा बजार स्थिर बनाउन सरकारले लगानीकर्तालाई आश्वस्त पार्ने स्पष्ट नीतिगत मार्गचित्र सार्वजनिक गर्न आवश्यक देखिएको छ । राष्ट्र बैंकले अधिकांश नीतिहरू सकारात्मक बनाइरहे पनि पुँजी बजारले गति लिन सकेको छैन । बैंकको ब्याजदर निरन्तर ओरालो लागेको छ भने राजनीतिक स्थिरता पनि आएको छ तर बजारले अझै गति लिन सकेको छैन ।

बजारमा मुख्य असर हालको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाबाट परेको छ । अवैध लगानी नियन्त्रणका लागि लागू भएका नयाँ नीतिहरूले बजारमा दबाब सिर्जना गरेका छन् । बैंक खाताबाट हुने कारोबारको निगरानी, अवैध लगानी रोकथाम र कानुनी कारबाहीको संकेतले केही ठूला लगानीकर्तालाई सतर्क बनाएको छ । यसै क्रममा ब्यवसायी दीपक भट्टको सम्पत्ति छानबिन सुरु भएको छ भने उनलाई सीआईबीले पक्राउ गरेको छ । यसले बजारमा ठूलो बिक्री दबाव सिर्जना गरेको विश्लेषकहरूले बताएका छन् ।

सरकारले राम्रो र नराम्रो कार्यको फिल्टरिङ प्रक्रिया सुरु गरेको छ । यसले ठूला लगानीकर्तामा त्रास उत्पन्न गरेको छ । बजारमा ठूला लगानीकर्ताले बाहिरिन खोज्दा नेप्सेमा गिरावट देखिन थालेको हो । नयाँ सरकारले कालो धनको खोजी सुरु गरेपछि बजारमा भागाभागको स्थिति सिर्जना भएको छ । ठूला र माफिया भनिएका लगानीकर्ताहरू त्रसित भएका छन् र उनीहरूको भाग्दा बजारमा प्रभाव परेको छ ।

यसैबीच, बालेन शाह नेतृत्वको सरकारले सुरु गरेको प्रमुख राजनीतिक दलका नेताहरू पक्राउ परेकाले पनि लगानीकर्तामा अनिश्चितता बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता दिपक खड्का र रमेश लेखक पक्राउ परेका घटनाले बजारमा डरको वातावरण सिर्जना गरेको छ । सडकमा प्रदर्शन भइरहँदा थप अनिश्चितता फैलिएको छ जसले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ ।

विश्व बजारको अवस्थाले पनि नेपाली बजारमा प्रभाव पार्न सुरु गरेको छ । मध्यपूर्वमा जारी युद्धले नेपाली भान्सामा महंगाई थपाएको छ । बजारमा महंगाई निरन्तर उकालो लागेको छ, र यसले नेपाली शेयर बजारमा समेत केही असर गरेको छ । आयात मूल्य वृद्धि, अन्तर्राष्ट्रिय तेल मूल्य बजारमा उतार–चढावको मुख्य कारण बनेका छन् ।

बजार ओरालो लागेपछि लगानीकर्ताको लगानी बालुवामा पानि झै भइरहेको छ । नयाँ सरकार गठन भएपछि बजारमा रौनक आउने अपेक्षाले शेयर खरिद गरेका लगानीकर्ताको लगानीको मनोबल थप कमजोर हुन थालेको हो ।

अर्थमन्त्री वाग्लेले पनि बजार सुधारका लागि आवश्यक खाका तयार गरेको बताएका छन् । विभिन्न भेटघाटमा उनले बजारका लागि स्पष्ट बाचा पत्र प्रस्तुत गरेको र सरकारले त्यसमा प्रतिवद्ध रहेको बताए । लगानीकर्तालाई अत्तालिन नहुने र बजारमा सुधारका लागि आवश्यक कदम चालिने आश्वासन उनले दिएका छन् । वाग्लेले बजार घट्नुका कारण र सुधारका सम्भावित उपायहरूको सम्बन्धित निकायसँग छलफल गरेका थिए । तर, उनका बोलि र प्रतिबद्धतामाथि नै पुँजी बजारले रातो झण्डा देखाइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*