वीरगन्ज नाकाबाट ४९७ विद्युतीय कार आयात, ९६ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । वीरगन्ज भन्सार कार्यालय मार्फत चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख मूल्यका ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनको आयातबाट कार्यालयले ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने रु ४३ करोड एक लाख मूल्यका १६५ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका थिए। ती सवारीसाधनको आयातबाट रु ३५ करोड ५० लाख राजस्व सङ्कलन भएको थियो।
गत आवको सात महिनाको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको सात महिनामा ८० करोड ५७ लाख मूल्यका एक हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्। जबकि गत आवको सोही अवधिमा रु ४४ करोड तीन लाख मूल्यका तीन हजार तीन सय ७४ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए।
त्यस्तै, चालु आवको सात महिनामा रु एक अर्ब १६ करोड १३ लाख मूल्यका ६०९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनको आयातबाट रु दुई अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने रु एक अर्ब ५० करोड मूल्यका ७४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका थिए। त्यसबेला इन्धनबाट चल्ने सवारीसाधनको आयातबाट रु तीन अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो।
भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्। जबकि गत आवको सोही अवधिमा रु १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो।











