सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप–वेबसाइट बन्द

काठमाडौँ । अनलाइन सट्टेबाजी नियन्त्रणमा सरकारले कडाइ गरेसँगै सात हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गरिएको छ। शासकीय सुधार कार्यसूची कार्यान्वयनको क्रममा नेपाल दूरसञ्चार प्राधिकरण ले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गर्दै अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी डिजिटल प्लेटफर्महरूमा व्यापक ‘क्र्याकडाउन’ गरेको हो।
प्राधिकरणका अनुसार हालसम्म ७ हजारभन्दा बढी युआरएल र एप पहिचान गरी बन्द गरिसकिएको छ। पछिल्लो एक सातामै अनलाइन सट्टेबाजीसम्बन्धी ५० भन्दा बढी गुनासा टेलिफोन, इमेल र म्यासेजमार्फत प्राप्त भएपछि कारबाहीलाई तीव्र बनाइएको हो। प्राप्त उजुरीहरूको आधारमा ती प्लेटफर्महरू ट्र्याक गर्दै बन्द गरिएको प्राधिकरणले जनाएको छ।
सरकारले चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नम्बर ४२ मा अनलाइन सट्टेबाजीसँग सम्बन्धित सबै एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने स्पष्ट निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गरी डिजिटल माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजी प्लेटफर्महरू तत्काल बन्द गराएको हो।
कानुनी रूपमा पनि सट्टेबाजी नेपालमा निषेधित छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन नपाउने व्यवस्था छ। यस प्रावधानको उल्लङ्घन गरेमा प्रयोग गरिएको रकम जफत हुने र एक वर्षसम्म कैद तथा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।
त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा वा सट्टेबाजीलाई प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ। यस्तो गतिविधिमा संलग्न पाइएमा कैद र जरिवानाको व्यवस्था रहेको छ।











