अब शेयर बजार चार दिन मात्रै खुला हुन लागेको हो ?

काठमाडौँ। सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको दबाबलाई मध्यनजर गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शेयर बजारको तालिका प्रभावित भएको छ। यसअघिको नियमअनुसार नेप्से आइतबारदेखि बिहीबारसम्म खुल्थ्यो भने शुक्रबार र शनिबार बन्द हुन्थ्यो। नयाँ निर्णयपछि हाल शुक्रबार, शनिबार र आइतबार बजार बन्द हुने अवस्था सिर्जना भएको छ।
यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी कार्यालयलाई विदा घोषणा गर्दा नेप्सेले शुक्रबार पनि बजार खोलेर सातामा पाँच दिन कारोबार सुनिश्चित गरेको थियो। केही समयपछि सरकारले निर्णय फिर्ता लिँदा शुक्रबारको कारोबार आइतबारमा सारिएको थियो।
तर, नेप्से सञ्चालक समितिले भने शुक्रबार बजार खोल्ने सम्भावना खुला राखेको छ। स्रोतका अनुसार, ‘सरकारले आइतबार विदा दिएकोले बजार बन्द हुन्छ, तर शुक्रबार खोल्ने विषयमा सञ्चालक समितिमा छलफल हुनेछ।’











