संघीय संसदका दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभा उपाध्यक्ष चयन गरिने

२३ चैत्र २०८२, सोमबार ०९:१६

काठमाडौ । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्ने भएका छन्। दुवै सदनको सम्भावित दैनिक कार्यसूचीअनुसार आजका बैठकमा अध्यादेश स्वीकृति, राष्ट्रिय सभा उपाध्यक्ष चयन तथा प्रतिवेदन पेश गर्नेजस्ता कार्यसूची रहेका छन्।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको छ। बैठकमा अध्यादेशसम्बन्धी कार्यसूची समावेश गरिएको छ। कार्यसूचीअनुसार गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन्। स्वीकृतिका लागि प्रस्तुत गरिने अध्यादेशमा “मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२”, “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२” र “नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२” रहेका छन्।

यता राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ः१५ बजे बस्ने तय भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन मुख्य एजेन्डाका रूपमा रहेको छ। बैठकमा सदस्य प्रेम प्रसाद दंगालले सदस्य लिला कुमारी भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन्। त्यसपछि अध्यक्षले लिला कुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को चौबिसौं वार्षिक प्रतिवेदन पनि पेश गरिने कार्यसूची रहेको छ। उक्त प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहले सभासमक्ष पेश गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*