अर्थमन्त्री डा. वाग्ले सामु राखे स्टक ब्रोकर्स एशोसिएसनले ५ माग, ‘लगानीकर्ता निराश हुनु पर्दैन’

काठमाडौँ । नयाँ सरकार गठनपछि शेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसबाट साना लगानीकर्तामा परेको असरबारे गम्भीर चासो व्यक्त गर्दै डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसन बीच सोमबार अर्थ मन्त्रालयमा भेटघाट भएको छ। करिब आधा घण्टा चलेको उक्त भेटमा पूँजी बजारका पछिल्ला गतिविधि, लगानीकर्ताको मनोबल तथा धितोपत्र दलाल व्यवसायीहरूले भोगिरहेका समस्याबारे विस्तृत छलफल भएको हो।
एशोसिएसनका महासचिव भक्तिराम घिमिरेका अनुसार नयाँ सरकारप्रति बजारमा ठूलो अपेक्षा भए पनि पछिल्लो समय नेप्सेमा देखिएको गिरावटले विशेषगरी साना लगानीकर्ताहरू बढी मारमा परेका छन्। उनले बजारमा देखिएको अस्थिरता र घट्दो विश्वास पुनःस्थापित गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको धारणा राखे।
हाल पूँजी बजारमा करिब ७६ लाख लगानीकर्ता र ९२ वटा ब्रोकर कम्पनी सक्रिय रहेका छन्। यति ठूलो दायराको बजारलाई स्थायित्व दिन धितोपत्र दलाल व्यवसायीहरूले निरन्तर चुनौतीका बीच पनि आफ्नो भूमिका निर्वाह गर्दै आएको एशोसिएसनको भनाइ छ। यसै सन्दर्भमा ब्रोकर व्यवसायीहरूले अर्थमन्त्रीसमक्ष विभिन्न नीतिगत तथा संरचनागत सुधारका मागहरू अघि सारेका छन्।
एशोसिएसनले पूँजी बजार सुधार कार्यदलले दिएका तर कार्यान्वयन हुन बाँकी सुझावहरू तत्काल लागू गर्न माग गरेको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजी बजारमा सहज रूपमा प्रवेश र बाहिरिन दिने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।
त्यसैगरी, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्न दिने व्यवस्था गर्नुपर्ने माग पनि उठाइएको छ। सरकारी संस्थानहरू तथा विभिन्न कोषमा रहेको रकमलाई पूँजी बजारमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने माग पनि गरिएको छ। धितोपत्र हस्तान्तरणमा देखिएको समस्या समाधान गर्न अक्सन मार्केट यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ। हाल धितोपत्र हस्तान्तरण गर्न नसक्दा सिधै ‘क्लोज आउट’ मा लैजाने व्यवस्थाले लगानीकर्तालाई थप जोखिममा पारिरहेको एशोसिएसनको भनाइ छ।
यस्तै, सेटलमेन्ट ग्यारेन्टी फण्ड सम्बन्धी विनियमावली २०७५ र कार्यविधि २०७९ मा बने पनि हालसम्म कार्यान्वयनमा नआएको भन्दै त्यसलाई शीघ्र लागू गर्न नियामक निकायलाई आवश्यक निर्देशन दिन अर्थ मन्त्रालयलाई अनुरोध गरिएको छ।
स्टक ब्रोकर्स एशोसिएसनको मागको सम्बोधन गर्दै अर्थमन्त्री डा.वाग्लेले शेयर लगानीकर्ताको हितका लागि काम गर्ने तत्पर रहेको बताउँदै निराश नभई लगानी गर्ने आग्रह गरेका थिए ।












