गण्डकीको यातायात मन्त्रालयका लेखा अधिकृत पौडेलले ६ करोड अवैध सम्पत्ति आर्जन, अदालतमा मुद्दा दायर

काठमाडौँ । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अवैध सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पौडेलसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार, पौडेलले पदीय मर्यादा दुरुपयोग गर्दै अवैध रूपमा कूल ६ करोड २६ लाख ९३ हजार १२९ रूपैयाँ ८२ पैसा बराबरको सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि उक्त रकम बिगो कायम गरी मुद्दा दायर गरिएको हो।
अनुसन्धानका क्रममा आयोगले पत्ता लगाएको तथ्य अनुसार, पौडेलले नक्कली ऋण सापटीका कागजात तयार गरी विभिन्न व्यक्तिमार्फत रकम घुमाउने माध्यमबाट अवैध सम्पत्तिको स्रोत लुकाउने प्रयास गरेका थिए। उनले करिब २ करोड ५३ लाख रूपैयाँ बराबरको कारोबार विभिन्न तहका लेनदेनमार्फत लुकाउने, छल्ने र स्रोत परिवर्तन गर्ने प्रयास गरेको समेत खुल्न आएको छ।
यसैगरी, पौडेल र उनकी श्रीमती हुमा कुमारी उपाध्यायको नाममा बैंक तथा सहकारी संस्थामा रहेको २ करोड ५१ लाख ३४ हजार ४६२ रूपैयाँ १४ पैसा अवैध रूपमा आर्जन भएको देखिएको छ। आयोगले उक्त रकममा ब्याज समेत जोड्दा कुल २ करोड ५८ लाख ६७ हजार ३२४ रूपैयाँ ५३ पैसा बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाएको छ।
आयोगले सोही रकम बिगो कायम गर्दै पौडेललाई कैद र जरिवानासहित सजायको माग गरेको छ। साथै, उनको खातामा रहेको १ करोड ७० लाख १३ हजार ५० रूपैयाँ ७७ पैसा जफत गर्न पनि अनुरोध गरिएको छ।
यस प्रकरणमा मुख्य अभियुक्त पौडेललाई सहयोग गरेको आरोपमा उनकी श्रीमती हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूमाथि क्रमशः २ करोड २३ लाख, १ करोड ६३ लाख ६ हजार तथा १ करोड ३८ लाख रूपैयाँ बिगो कायम गरी मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ।











