शुभश्री अग्नि सिमेन्टको व्यापार साढे २ अर्ब: नाफा भने ६ करोड ऋणात्मक, ऋण घटाउन आईपीओ रणनीति

काठमाडौं । शुभश्री अग्नि सिमेन्ट इन्डष्ट्रिजको व्यापारमा उल्लेख्य सुधार आएपनि नाफा भने अझै ऋणात्मक रहेको देखिएको छ । कम्पनी सन् २०२५ मा व्यापार ५५ प्रतिशतले वृद्धि गरेपनि नाफा भने अझै थप संकुचित हुँदै गएको हो ।
सन् २०२४ मा कम्पनीको व्यापार १ अर्ब ५८ करोड ९० लाख रुपैयाँ थियो भने सन् २०२५ मा यो २ अर्ब ४६ करोड ७० लाख रुपैयाँ पुगेको छ। व्यापार वृद्धिले बजारमा उपस्थितिलाई केही मजबुत बनाएको भए पनि नाफामा ठोस सुधार भने देखिँदैन। सन् २०२३ मा कम्पनीको व्यापार २ अर्ब ५५ करोड १० लाख रुपैयाँ रहेको थियो व्यापार वृद्धिले पनि कम्पनीको घाटा कम गर्न पर्याप्त भूमिका खेल्न सकेको छैन।
गत आवमा ग्राइन्डिङ सिमेन्टबाट १ अर्ब ११ करोड २० लाख रुपैयाँ आम्दानी भएको छ भने बाँकी १ अर्ब ३५ करोड ४० लाख रुपैयाँ क्लिङ्कर बिक्रीबाट आएको छ। उत्पादन पोर्टफोलियोमा समानुपातिक आम्दानी भए पनि सञ्चालन खर्च र अन्य वित्तीय दबावका कारण नाफा अझै ऋणात्मक छ।
कम्पनीले सन् २०२५ मा ६ करोड ३० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। यो सन् २०२४ को ७ करोड ९० लाख रुपैयाँको खुद घाटा भन्दा केही कम हो। यद्यपि, कुल नगद सञ्चयमा वृद्धि भएको छ जुन १ करोड ७० लाख रुपैयाँबाट बढेर ८ करोड ५० लाख रुपैयाँ पुगेको छ।
अग्नि सिमेन्टको स्थापना सन् २०१३ मा प्राइभेट कम्पनीको रूपमा भएको थियो र सन् २०२२ मा मात्र सार्वजनिक कम्पनीमा परिणत भएको थियो। कम्पनीले सन् २०१७ देखि दैनिक ७ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गर्दै व्यावसायिक कारोबार सुरु गरेको थियो। त्यसपछि, सन् २०१९ देखि दैनिक १२ सय मेट्रिक टन क्षमतामा ग्राइन्डिङ सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ।
सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ कम्पनीले विभिन्न देशबाट आयात गर्दै आएको छ। कम्पनीले कोइला, लाइमस्टोन, जिप्सम, क्ले, आइरन ओरलगायतका अन्य कच्चा पदार्थ तेस्रो मुलुकबाट ल्याएर उत्पादनको निरन्तरता सुनिश्चित गरेको छ।
अग्नि सिमेन्टले आफ्नो दीर्घकालीन र अल्पकालीन ऋणका लागि ४ अर्ब ४७ करोड ११ लाख रुपैयाँको रेटिङ प्राप्त गरेको छ। यसमा दीर्घकालीन कर्जाका लागि २ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ५३ करोड २० लाख रुपैयाँको रेटिङ गरिएको छ।
कम्पनीको स्वामित्व पूर्ण रूपमा अग्नि सिमेन्ट इन्डष्ट्रिजको हातमा छ। कम्पनीको अध्यक्षमा कृष्णप्रसाद पोखरेल रहेका छन्।
कम्पनी ऋणको भारमा पर्दै आइरहेको छ । कम्पनीले ऋण घटाउन आईपीओ रणनीति अपनाएको छ । कम्पनीले आगामी योजनाका रूपमा २ अर्ब २१ करोड १० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि अनुमति माग गर्दै सेयर बोर्डमा निवेदन दिएको छ।











