निर्यात क्रेडिट बीमाको कार्यविधि नबन्दा निर्यातकर्ता अन्यौलतामा, अर्बौको जोखिम आफै वहन गर्दै

काठमाडौं । नेपालबाट विदेश सामान निर्यात गर्दा अनिवार्य रुपमा अपनाउनुपर्ने निर्यात क्रेडिट बीमा नेपालमा अझै ल्याउन सकिएको छैन । समयमा निर्यात क्रेडिट बीमा सम्बन्धी पोलिसी नबनाएका कारण निर्यातकर्ताहरुले आफै जोखिम मोल्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका सरोकारवालाहरुले दुखेसो पोखेका छन् ।
अन्तर्राष्ट्रिय व्यापारको क्रममा विदेशमा रहेको सामान आयातकर्ताले भुक्तानी नदिएको खण्डमा दावी पाउने गरी यस्तो बीमा गरिन्छ । अमेरिकासहितका देशहरुमा यस्तो बीमाले प्रभावकारी कार्य गरिरहेको छ । नेपालमा भने यसको अभ्यास सुरु नै नभएको नेपाल निर्यात महासंघले जनाएको छ ।
सरकारलाई बारम्बार झकझकाउदा पनि समयमा निर्यात क्रेडिट बीमाको कार्यविधि बन्न नसकेको नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरेले बताए । अध्यक्ष घिमिरेले छुट्टै बीमा पोलिसी जारी हुनुपर्ने पक्षमा छन् । तर, उता, बीमा प्राधिकरणले भने हाल भइरहेको मरिन इन्स्योरेन्समा आवश्यक थपघट वा थप प्रमियम तिरेर सुविधा थप गर्न सकिने जनाएको छ ।
जेनजी आन्दोलन हुनु अघि निर्यात व्यवसायी महासंघले प्रधानमन्त्री अर्थमन्त्रालय र उधोग मन्त्रालयसँग पटक पटक छलफलमा बसेर छलफल गरेको थियो । निर्यात क्रेडिट बीमाको कार्यविधि तयार गर्न तत्कालिन प्रधानमन्त्रीसँगको बारम्बार छलफल पश्चात् यस बिषयमा सकारात्मक भई छलफल कमिटि समेत बनेको थियो । तर जेन्जी आन्दोलनपछिको नेत्तृव परिर्वतनको कारण नयाँ सरकारलाई यस बिषयमा अवगत गराउन नपाएको संघका अध्यक्ष घिमिरेले जानकारी दिए ।
अर्थमन्त्रालयसँगको छलफलमा निर्यात क्रेडिट बीमाका कार्यविधिमा भईरहेको छलफललाई निरन्तरता दिने बिषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण गराउने संघको योजना रहेको छ ।चालु आर्थिक वर्ष २०८२/८३ फागुन सम्ममा नेपालबाट २ खर्बको निर्यात भएको थियो । भन्सार विभागका अनुसार वस्तु निर्यात १ खर्ब ९१ अर्ब ११ करोड पुगेको थियो ।
गत बर्षको तुलनामा निर्यात व्यापार २१ प्रतिशतले विस्तार भएको थियो । गत आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ हाराहारी मात्र थियो । निर्यातकर्ताहरुले निर्यात बढाएपनि जोखिमको कारण अझै बार्षिक अर्बौं रुपैयाँको रिक्स आफै लिन बाध्य भएका छन् ।
विश्वका धेरै देशहरूले निर्यातमा भुक्तानी नहुने जोखिमलाई लक्षित गर्दै निर्यात क्रेडिट बीमा लागू गरेका छन् । पछिल्लो समय नेपालबाट सामानको निर्यात बढ्दै गएको छ । निर्यातको आकार बढेसँगै भुक्तानी नगर्ने समस्या पनि बढ्दै गएको छ । यसले निर्यातकर्ताहरूलाई निरुत्साहित गरेको छ । तर, यस्ता जोखिमहरू कभर गर्न निर्यात क्रेडिट इन्स्योरेन्स लागू गर्न सम्बन्धित निकायहरूले पर्याप्त ध्यान नदिएको उनीहरुको गुनासो छ ।
निर्यातकर्ताहरूले पाँच वर्षदेखि सरकारसँग यस्तो बीमा सुविधाको लागि कार्यविधि बनाईदिन आग्रह गर्दै आईरहेका छन् । अस्थिर सरकारको कारण सरकारले यो विषयलाई बेवास्ता गरेको उनीहरूको भनाई छ ।
निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपालमै क्रेडिट निर्यात बीमा सुरु गर्नुपर्ने बताउँछन् । ‘पछिल्लो समय नेपालबाट ३६ वटा वस्तुहरु नियार्त हुँदै आईरहेका छन्, निर्यातसँगै भुक्तानी नपाउने जोखिम पनि बढ्दै गएको छ,’ उनले भने, ‘यस अवस्थामा हामी आफैले रिक्स लिन बाध्य भएका छौं, आवश्यक शुल्क तिरेर आफ्नो बीमा गर्न चाहन्छौं। तर, हामीले त्यो सुविधा पाउन सकेका छैनौं । सरकारले यसतर्फ तुरुन्तै ध्यान दिनु आवश्यक छ ।’
निर्यात गरिएको वस्तुको भुक्तानी नभएको अवस्थामा, बीमा कम्पनीहरूबाट निर्यात मूल्यको ९५% सम्म प्राप्त गर्न सकिन्छ । तर, नेपाली निर्यातकर्ताहरूले अहिलेसम्म यस्तो सुविधा पाउन सकेका छैनन् ।
व्यापार घाटा कम गर्न नेपालले जुनसुकै मूल्यमा पनि आफ्नो निर्यात बढाउनुपर्छ। त्यसका लागि निर्यातकर्ताहरू भन्छन् कि उनीहरूलाई प्रेरणा चाहिन्छ, जुन यस्तो बीमा सुविधा मार्फत सम्भव छ ।
नेपाली चिया उद्योगले केही वर्ष पहिले बेलायतमा आफ्ना उत्पादनहरू निर्यात गरेको थियो, तर खरीदकर्ताहरूले पैसा तिरेनन् । खरीदकर्ता विरुद्ध ती कम्पनीले लण्डनस्थित अदालतमा न्याय माग्दा अदालतले नेपालमा निर्यात क्रेडिट बीमा छ कि छैन भनेर प्रश्न गरेको थियो ।
अदालती प्रकृयामा पनि यी बिषयहरु हेरिन्छ । बर्षिनै अर्बौको सामान निकासी गर्दै आएका नेपाली निर्यातकर्ताहरुका लागि नेपालमै निर्यात के्रडिट बीमा नभईदिँदा निकै समस्या पर्ने गरेको संघको भनाई छ । महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेका अनुसार बिशेष गरी फुड आईटममा बढी रिक्स रहेको बताँउछन् । राज्यले निर्यात बढाउने निति लिएपनि निर्यातकर्ताहरुको यस्ता समस्या नबुझदा उनीहरु मारमा परेको बताँउछन् ।
नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र वैदरवार यस्तो उत्पादन लागू गर्नु चुनौतीपूर्ण भएको तर्क गर्छन् । राष्ट्र बैंकको समन्वय पनि यसमा जरुरी हुने उनी बताँउछन् । “पहिले, बीमा कम्पनीले ग्राहकहरूको सबै क्रेडिट जान्नुपर्छ। यसबाहेक, निर्यातको समयमा विदेशीहरू ग्राहक हुन्,’ उनले भने, ‘हामीलाई अन्य सामान आयात गर्दा ग्राहकहरूले बैंकलाई गरेको ऋण भुक्तानी र व्यावसायिक कारोबार जस्ता जानकारी चाहिन्छ जुन प्राप्त गर्न गाह्रो छ। त्यसैले यो धेरै चुनौतीपूर्ण छ ।’
निर्यातकर्ताहरुलाई समयमा डेलिभरी र समयमा सामान पुराउन नसक्ने र सामान फिर्ता हुने केसमा आफै रिक्स लिन बाध्य छन् । यस बिषयमा निर्यातकर्ताहरुले प्राधिकरणसँग छलफल अघि बढाएपनि बीमकसँग भने कुनै छलफल नभएको उनी बताँउछन् । नेपालबाट निर्यात हुने बिशेष गरी गलैचा, हस्तकला, रअ म्याटिरियल। चिया, कफिहरुमा निर्यातकर्ताहरु यस बीमा पोलिसी नेपालमा हुँदा मारमा परेको वैदरवार स्वीकार गर्छन् ।











