‘बिचौलिया’ भन्दै धरपकड गरिएपछि लेखापढी व्यवसायी ‘पेन डाउन’ आन्दोलनमा

२३ चैत्र २०८२, सोमबार १६:१५

काठमाडौँ । अपराधीको शैलीमा धरपकड र गिरफ्तारी गरिएको आरोप लगाउँदै लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाइ समितिको आयोजनामा उनीहरूले विरोध कार्यक्रम सुरु गरेका हुन् ।

सोमबार (चैत २३) जारी विज्ञप्तिमा एसोसिएसनले भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरबाट ‘बिचौलिया’को निराधार आरोप लगाउँदै व्यवसायीहरूलाई पक्राउ गरिएको भन्दै भर्त्सना गरेको छ । आधार र प्रमाणबिना व्यवसायीलाई आरोप लगाइएको एसोसिएसनको भनाइ छ ।

विज्ञप्तिअनुसार आइतबार (चैत २२) मालपोत कार्यालय ललितपुरमा कार्यरत लेखापढी व्यवसायीहरूलाई धरपकड गरी प्रहरी परिसर जावलाखेल लगिएको थियो । पक्राउ परेका व्यवसायीहरू भने पछि रिहा भइसकेका छन् ।

कानुनी रूपमा अनुमति प्राप्त भू–सेवा केन्द्रका सञ्चालक तथा लेखापढी व्यवसायीलाई पक्राउ गरिएको भन्दै एसोसिएसनले आपत्ति जनाएको छ ।

एसोसिएसनका पाटन इकाइ समितिका सचिव भरत घिमिरेद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको विरोधस्वरूप देशभरका लेखापढी व्यवसायीहरूले अर्को निर्णय नभएसम्म ‘पेन डाउन’ आन्दोलन गर्ने उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*