बीमितसँग नगद असुल्ने र भेदभाव गर्ने अस्पताललाई कडा कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

२३ चैत्र २०८२, सोमबार १७:३१

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध बिमितहरूलाई औषधि खरिदमा नगद तिर्न लगाउने र सेवा प्रवाहमा भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

बोर्डले सोमबार सूचना जारी गर्दै केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमाको प्याकेजभित्रै पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरू बिमितलाई बाहिरका औषधि पसल वा आफ्नै फार्मेसीबाट नगदमा खरिद गर्न लगाएको व्यापक गुनासो आएको जनाएको छ।

बोर्डका अनुसार यस्तो कार्य स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) विपरीत हो। यस्ता गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ।

यसैगरी, केही अस्पतालहरूले स्वास्थ्य बीमा मार्फत सेवा लिन आउने बिमितहरूलाई अग्रिम समय लिनुपर्ने बाध्यता गराएको तथा उनीहरूप्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधि नरोकेमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ बमोजिम स्वास्थ्य संस्थासँग गरिएको सम्झौता नै रद्द गर्नेसम्मको कदम चालिने चेतावनी दिइएको छ।

बोर्डले औषधि तथा अन्य स्वास्थ्य सेवाको दररेट सम्बन्धमा पनि स्पष्ट निर्देशन दिएको छ। अस्पतालको आफ्नै दररेट बीमा सुविधा थैलीमा उल्लेखित दररेटभन्दा कम भएमा न्यूनतम दरमै दाबी गर्नुपर्ने व्यवस्था पालना गर्न समेत बोर्डले सेवा प्रदायकलाई निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*