टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

२४ चैत्र २०८२, मंगलवार ११:३६

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाकाबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना को निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो ।

ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार तथा प्रशासनिक प्रक्रियामा सुधार ल्याउने लक्ष्यसहित व्यापक रूपान्तरण प्रक्रिया अगाडि बढाइएको छ । सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ, जसमा नेपाल टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखिएको छ । विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया, जटिल प्रक्रियागत झन्झट तथा गुनासो समाधानमा ढिलाइ जस्ता समस्या दोहोरिँदै आएका थिए । यिनै समस्यालाई सम्बोधन गर्न मन्त्रालय र कम्पनीबीच समन्वयात्मक रूपमा काम भइरहेको छ ।

डेटा सेवासम्बन्धी गुनासोलाई सम्बोधन गर्दै नेपाल टेलिकमले नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । अब डेटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने प्रणाली अन्त्य गरिएको छ । यसको सट्टा ग्राहकले थप पारदर्शी विकल्प पाउनेछन् । डेटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइने व्यवस्था गरिएको छ । साथै ‘पे–एज–यू–गो’ (पिएवाईजी) प्रणालीमार्फत प्याकेजबिनै इन्टरनेट प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ । यसअन्तर्गत ग्राहकले नयाँ प्याकेज लिने वा पिएवाईजी मोडमा जाने भन्ने निर्णय आफैँ गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो प्रणाली परीक्षण चरणमा रहेको छ र केही दिनभित्र पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ । युएसएसडि प्रणालीमार्फत खरिद गरिने डेटा प्याकमा ३ देखि ५ दिनभित्र र मोबाइल एप प्रयोगकर्ताका लागि ७ देखि १० दिनभित्र यो सुविधा लागू गरिने जनाइएको छ ।

ग्राहक सेवा प्रक्रियालाई सहज बनाउन ‘वन टाइम केवाइसी’ प्रणाली लागू गर्ने तयारी गरिएको छ । यस प्रणालीअन्तर्गत ग्राहकले एकपटक मात्र विवरण बुझाएपछि पुनः सोही कागजात पेश गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । हाल सिम कार्ड खरिद, नवीकरण वा अन्य सेवा लिँदा बारम्बार कागजात पेश गर्नुपर्ने समस्या रहेको थियो । नयाँ व्यवस्था लागू भएपछि सेवा प्राप्ति प्रक्रिया छिटो र झन्झटरहित हुने अपेक्षा गरिएको छ ।

डिजिटल रूपान्तरणअन्तर्गत कम्पनीले विभिन्न सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी पनि तीव्र बनाएको छ । ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा सिम स्वामित्व हस्तान्तरणजस्ता सेवा अब घरमै बसेर लिन सकिनेछ ।

यसैगरी, ग्राहक सेवा सुधारका लागि ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना अघि सारिएको छ । यसअनुसार नेपाल टेलिकमका सबै कार्यालयमा सहायता कक्ष स्थापना गरी ग्राहकका सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*