८ महिनामा विकास बैंकहरुको नाफा साढे ४ अर्बः मुक्तिनाथ र गरिमाको कडा प्रतिस्पर्धा, कुनको कति ?

२४ चैत्र २०८२, मंगलवार १२:१०

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ८ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुले साढे ४ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका ८ राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ४ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को ८ महिनाको अवधिको तुलनामा भने ९.६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा विकास बैंकहरुले ४ अर्ब १८ करोड ७० लाख रुपैयाँ नाफा कमाएका थिए । समिक्षा अवधिमा २ बैंकको नाफा घटेको देखिएको छ भने ६ बैंकको नाफामा आकर्षक सुधार देखिएको हो ।

यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । ८ महिनाको अवधिमा बैंकले ९८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको हो । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २४.७८ प्रतिशतले बढी हो ।

फागुन मसान्तसम्मको अवधिमा गरिमा विकास बैंक सर्वाधिक नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको छ । बैंकले ८ महिनामा ९२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिमा ८३ करोड ३८ लाख रुपैयाँ नाफा रहेको थियो ।

यता, शाइन रेसुङ्गा बैंकको नाफा १५ प्रतिशतले बढेर ६५ करोड रुपैयाँ पुगेको छ भने कामना सेवा विकास बैकले समेत आफ्नो नाफा१२.३० प्रतिशतले बढाएर ५६ करोड २७ लाख रुपैयाँ पुराएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरेको छ ।

समिक्षा अवधिमा ज्योति विकास बैंकको नाफा २८.६७ प्रतिशतले बढेर ४६ करोड ३३ लाख र सांग्रिला डेलभपमेन्ट बैंकको २.५८ प्रतिशतले बढेर ४१ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

साथै, महालक्ष्मी विकास बैंकको नाफा भने २९.७६ प्रतिशतले घटेको छ । बैंकले ८ महिनाको अवधिमा ३३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको हो ।

राष्ट्रिय स्तरका विकास बैंकका लुम्बिनी विकास बैंक सबैभन्दा पुछारमा रहेको छ । बैंकको नाफा १९ प्रतिशतले घटेर २५ करोड १२ लाख रुपैयाँमा सीमित भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*