नेपालको अर्थतन्त्र दोस्रो त्रैमासमा ४.०५ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपालको अर्थतन्त्र चालू आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमासमा करिब ४.०५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वृद्धि देखिएको हो। पहिलो त्रैमासमा वृद्धिदर ३.२४ प्रतिशत रहेको थियो।
त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को प्रारम्भिक तथ्यांकअनुसार विद्युत् उत्पादन, बैंक तथा वित्तीय क्षेत्र, बीमा, कृषि, व्यापार, पर्यटनलगायत क्षेत्रमा वृद्धि हुँदा समग्र आर्थिक गतिविधि बढेको देखिएको छ। प्रस्तुत १८ वटा औद्योगिक वर्गीकरणमध्ये सबै क्षेत्रमा सकारात्मक वृद्धि अनुमान गरिएको छ। यद्यपि, निर्माण क्षेत्रमा सुधार हुन सकेको छैन, धान उत्पादन घटेको छ, र केही वस्तुको घरेलु उत्पादन घट्दा आर्थिक वृद्धिदर सामान्य स्तरमै सीमित देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार पहिलो त्रैमासमा देखिएको जेन–जी आन्दोलनको असर अहिलेको त्रैमासमा छैन। उनले भने, “हामी जिडिपी मापन प्रोडक्सन एप्रोचबाट गर्ने भएकाले आन्दोलनले केही उद्योग र उत्पादनमा अलि–अलि असर गरेको थियो, ठूलो असर परेको होइन। अहिलेको त्रैमासमा सुधार देखिएको छ।”
उहाँका अनुसार १८ वटा सेक्टरमध्ये ६ वटा सेक्टरले अर्थतन्त्रलाई माथि तानेको छ। यातायात सेवा, पर्यटन आगमन, आवास तथा होटेल, कृषिमा फलफूल, तरकारी र वन पैदावारको उत्पादन बढेको छ। तर, कृषि क्षेत्रमा अपेक्षित वृद्धिदर हासिल नभएको बताइएको छ। मुख्य कारण धान उत्पादनमा गिरावट हो।
निर्माण क्षेत्रमा सुधार हुन सकेको छैन। ढुण्डीराज लामिछानेका अनुसार निर्माणसँग सम्बन्धित सामग्रीको आयात बढेन, ठेक्काहरू तोडिएका छन्, र सरकारी पुँजीगत खर्च कमजोर भएको कारणले क्षेत्र अगाडि बढ्न सकेको छैन। निर्माण क्षेत्रमा सुधार भए अर्थतन्त्रमा थप वृद्धिदर देखिन सक्नेछ।
मौसमी प्रभाव समायोजन गर्दा दोस्रो त्रैमासमा अर्थतन्त्र पहिलो त्रैमासको तुलनामा २.०४ प्रतिशतले बढेको अनुमान छ। पहिलो त्रैमासमा यो वृद्धिदर १.२४ प्रतिशत ऋणात्मक थियो। १८ औद्योगिक क्षेत्रमध्ये १६ क्षेत्रमा वृद्धि र दुई क्षेत्रमा संकुचन देखिएको छ।
क्षेत्रगत रूपमा सबैभन्दा बढी वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा देखिएको छ, जसको वृद्धिदर २२.७४ प्रतिशत अनुमान गरिएको छ। त्यसपछि वित्तीय तथा बीमा क्षेत्र १२.५१ प्रतिशत, यातायात तथा भण्डारण ९.६५ प्रतिशत, होटेल तथा रेस्टुरेन्ट ५.१८ प्रतिशत र थोक तथा खुद्रा व्यापार ४.११ प्रतिशतले बढेको अनुमान छ।
अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिने कृषि क्षेत्रको वृद्धिदर २.२१ प्रतिशत मात्र रहने अनुमान छ। धान उत्पादन घटे पनि पशुपक्षी, तरकारी, फलफूल र वन पैदावारको उत्पादन बढ्दा कृषि क्षेत्र समग्रमा सकारात्मक रहेको देखिन्छ।











