पुँजी बजारमा अस्थिरताः लगानीकर्ता त्रसित हुँदा कारोबार साढे ६ अर्बमा सीमित, शेयर किन्ने बेला हो ?

काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी छ । मंगलबार बिहानदेखि नै बजारमा हलचल भइरह्यो । हिजो उच्च अंकले बढेको बजार आज फेरी घट्न पुगेको छ । आइतबार १०५ अंकले ओरालो लागेको बजार सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजार सम्बन्धी सकारात्मक अभिव्यक्ति दिएका थिए । जस कारण उच्च सुधार आयो । तर त्यसको प्रभाव लामो समय टिक्न सकेन र मंगलबार बजार फेरी तल झर्यो ।
अर्थमन्त्री बनेदेखि शेयर बजार सम्बन्धी मुद्दामा मौन रहेका डा. वाग्लेले सोमबार पहिलो पटक लगानीकर्ताको मनोबल बढाउने शैलीमा अभिव्यक्ति दिएका थिए । उनीहरूले बजारमा विश्वास फर्काउने प्रयास गरे पनि व्यवहारमा तत्काल नदेखिएपछि लगानीकर्ताको मनोबल अझै पूर्ण रूपमा उठ्न सकेको छैन । हाल अधिकांश लगानीकर्ता सरकारले लिने नीतिहरूको प्रमाण खोज्दै पर्खिरहेको अवस्था छ ।
हालको बजार गिरावटमा विशेष गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी कडाइको प्रभाव रहेको छ । अवैध लगानी नियन्त्रणका लागि ल्याइएका नीतिहरू स्वभावमा आवश्यक र सकारात्मक भए पनि यसको कार्यान्वयन शैलीले बजारमा त्रास सिर्जना गरेको छ । बैंकिङ कारोबारमा कडाइ, निगरानी विस्तार र कानुनी कारबाहीको संकेतले ठूला लगानीकर्तालाई सतर्क बनाएको छ ।
यसैबीच केही व्यवसायीहरू पक्राउ पर्नु, अनुसन्धानका विषय सार्वजनिक हुनु र गोप्य प्रक्रियाहरू खुला रूपमा प्रस्तुत हुनुले बजारमा नकारात्मक सन्देश प्रवाह गरेको छ । जब अनुसन्धान प्रक्रिया नै सार्वजनिक बहसको विषय बन्छ त्यसले केवल दोषीलाई मात्र नभई निर्दोषलाई पनि त्रसित बनाउँछ । यही त्रासका कारण ठूला लगानीकर्ताले बजारबाट बाहिरिने प्रवृत्ति बढाएको छ । फलस्वरूप, बिक्री दबाब बढिरहेको देखिन्छ।
पुँजी बजार केवल आर्थिक सूचक मात्र नभई समग्र अर्थतन्त्रको विश्वासको आधार पनि हो। यहाँ देखिएको अस्थिरता अर्थतन्त्रको अन्य क्षेत्रमा पनि मनोवैज्ञानिक प्रभाव पार्न सक्छ। तर, सरकारको १०० दिने कार्यसूचीमा पुँजी बजारसम्बन्धी कुनै ठोस योजना नसमेटिनु गम्भीर प्रश्नको विषय बनेको छ । यसले लगानीकर्ताबीच अनिश्चितता र असुरक्षा बढाएको छ।
तर, केही लगानीकर्ताहरूले हालको समयमा शेयर खरिदको अवसर रहेको विश्वास व्यक्त गरेका छन्। स्थायी सरकार, नियामक नीतिहरू सहज, बैंकको ब्याजदर कम र अर्थमन्त्रीको सकारात्मक दृष्टिकोण हुँदा बजारले दिर्घकालीन रूपमा बुलको यात्रा तय गर्ने अपेक्षा गरिएको छ। अहिलेको गिरावट डरको कारण भएको भएको हुँदा दीर्घकालीन लाभका लागि अहिले नै शेयर खरिद गर्ने उपयुक्त समय रहेको केहि लगानीकर्ताको बुझाइरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६१ अकंले घटेर २७५७ बिन्दुमा कायम भएको छ ।आज ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको ०.६२ प्रतिशत, फाइनान्स समूहको ०.४१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.४६ प्रतिशत, जीवन बीमा समूहको ०.४५ प्रतिशत, निर्जीैवन बीमा समूहको ०.३३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
मंगलबार ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।












