राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले लिए पद तथा गोपनीयताको शपथ
२४ चैत्र २०८२, मंगलवार १९:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज उनले गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पण्डितले डेपुटी गभर्नरका रुपमा ५ वर्ष काम गर्नेछन्। उनी राष्ट्र बैंकमा प्रवेश गरेको २० वर्षमै डेपुटी गभर्नर बनेका हुन्। मन्त्रिपरिषद्को मंगलबार अपराह्न बसेको बैठकले गभर्नरको सिफारिसमा पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
२०६२ माघ २ गते राष्ट्र बैंकको सेवामा प्रवेश गरेका पण्डित २०६८ जेठ २७ गते उपनिर्देशक, २०७४ असार २७ गते निर्देशक र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।











