इरान र अमेरिकाबीच दुई हप्ता युद्धविराम, स्ट्रेट अफ होर्मुज खोलिने

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरानबीच दुई हप्ता युद्धविराम गर्ने र स्ट्रेट अफ होर्मुज खुला गर्ने सहमति भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली समयअनुसार बुधबार बिहान ५.४५ बजेभित्र स्ट्रेट अफ होर्मुज खुला नगरे इरानको सम्पूर्ण सभ्यता नष्ट गर्ने चेतावनी दिएका थिए। उक्त चेतावनीको समयसीमा सकिनै लाग्दा दुई राष्ट्रबीच युद्धविरामको सहमति भएको हो।
उक्त वार्ताको मध्यस्थता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले गरेका थिए। इरानले पाकिस्तानमार्फत अमेरिकासामु युद्धविरामको १० बुँदे योजना पेश गरेको थियो। इरान–अमेरिका युद्धमा सामेल भएको इजरायलले पनि युद्धविराम सहमति पालना गर्ने बताएको छ।
युद्धविराम सहमतिपछि इरानका विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन्। यो सहमतिसँगै इन्धनको मूल्य घट्ने क्रम शुरू भएको छ। मंगलबारसम्म प्रतिब्यारेल १०० अमेरिकी डलरमा कारोबार भइरहेको कच्चा तेलको मूल्य घटेर ९४.५ डलर प्रतिब्यारेलमा झरेको छ।











