सामुदायिक लघुवित्तमा कर्जा घोटालाः शाखा प्रमुखकै सेटिङमा लाखौं अपचलन

२५ चैत्र २०८२, बुधबार १३:५५

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको विभिन्न शाखामा प्रमुख भएर कार्य गर्दा संस्थाको रकम गैरकानूनी रूपमा अपचलन गरेको आरोपमा सन्तोष मगर पक्राउ परेका छन्।

सिन्धुलीको फिक्कल गाउँपालिका–१ घर भएका २७ वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको विशेष टोलीले सिन्धुली प्रहरीको समन्वयमा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनलाई सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटारबाट पक्राउ गरिएको हो।

मगरले सोलुखुम्बुको सल्लेरीलगायत विभिन्न शाखाहरूमा कार्यरत रहँदा पदको दुरुपयोग गर्दै कृत्रिम कर्जा प्रवाह देखाई आर्थिक अपचलन गरेको उजुरी परेको थियो। संस्थाका तर्फबाट अख्तियार प्राप्त प्रतिनिधि वाङ्गेल लामाले मगरले गैरकानूनी रूपमा रकम लेनदेन गरी संस्थालाई ठूलो आर्थिक क्षति पुर्‍याएको भन्दै जाहेरी दिएका थिए।

उक्त जाहेरीका आधारमा उच्च अदालत विराटनगरबाट मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। फरार रहेका मगरको खोजीमा जुटेको प्रहरीले उनलाई सिन्धुलीबाट पक्राउ गरी सोलुखुम्बु ल्याएको जनाएको छ।

पक्राउ परेका मगरलाई चैत २२ गते उच्च अदालत विराटनगरबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*