मोदी इनर्जीको २ करोडभन्दा बढी शेयरको ‘लक–इन’ अवधि सकिंदै

काठमाडौं । मोदी इनर्जी लिमिटेडको विभिन्न समूहका शेयरधनीहरूको शेयरमा लगाइएको ‘लक–इन’ अवधि आगामी वैशाख ३० गते समाप्त हुने भएको छ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल २ करोड ९० लाख कित्ता शेयरमध्ये केही समूहका शेयर निश्चित अवधिसम्म बेचबिखन गर्न नपाइने गरी ‘लक–इन’मा राखिएको थियो। अब सो अवधि पूरा हुन लागेको कम्पनीले जनाएको छ।
लक–इनमा राखिएका शेयरमध्ये संस्थापक शेयरधनीहरूको २ करोड १७ लाख ५० हजार कित्ता, कर्मचारीहरूको ७६ हजार ७० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको ८ लाख ४ हजार ३९० कित्ता शेयर रहेका छन्। यसरी कुल २ करोड २६ लाख ३० हजार ४६० कित्ता शेयरको लक–इन अवधि सकिन लागेको हो।
उक्त शेयरको लक–इन अवधि आउँदो वैशाख ३० गते समाप्त हुनेछ। सो मितिपछि सम्बन्धित शेयरधनीहरूले आफ्नो शेयर कारोबार गर्न सक्नेछन्। यद्यपि कम्पनीका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको शेयर भने प्रचलित नियमअनुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।











