स्वास्थ्य बीमा बोर्डका कर्मचारीले बीमा असफल बनाएको भन्दै श्रममन्त्रीको आक्रोश

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारीलाई बीमा असफल बनाएको भन्दै श्रममन्त्रीको आक्रोश व्यक्त गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सुरु भएको १० वर्ष पुगेको अवसरमा बुधबार ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कार्यक्रम आयोजना ग¥यो। १० वर्षमा कति बीमाआबद्ध भए, बीमा सेवा कसरी चलिरहेको छ भन्नेबारे प्रगति विवरण र समस्या बुझाउँदै शुभकामना मन्तव्य दिने कार्यक्रम चलिरहेको थियो।
स्वास्थ्य मन्त्रालय र बीमा बोर्डका कर्मचारीको सहभागितामा भएको कार्यक्रममा स्वास्थ्यमन्त्री निशा मेहता भने कार्यव्यस्तताका कारण अनुपस्थित भइन्। स्वास्थ्यमन्त्री नआएपछि बोर्डका पदाधिकारीले श्रममन्त्री दीपककुमार साहलाई आमन्त्रण गरेका थिए। मन्त्री साह कार्यक्रम सुरु भएको १ घण्टापछि उपस्थित भए।
त्यहाँ साहलाई मन्तव्य राख्न भनियो। श्रममन्त्री साहले स्वास्थ्य मन्त्रालय र बीमा बोर्डका कर्मचारीलाई बीमा असफल बनाएको भन्दै आक्रोश पोख्न थाले। अलग मन्त्रालयका मन्त्री आएर आक्रोश पोख्नु कार्यक्रममा उपस्थित व्यक्तिहरूका लागि कल्पनाबाहिरको कुरा थियो।
श्रममन्त्री साहले स्वास्थ्य बीमा कार्यक्रम खस्किनुमा स्वास्थ्य मन्त्रालय जिम्मेवार रहेको भन्दै बीमा चलाउन नसक्ने भए आफू मातहतको श्रम मन्त्रालयलाई दिनसम्म भन्न भ्याए। उनले पुनः संरचनाका लागि भन्दै स्वास्थ्य मन्त्रालयबाट खाका पनि मागे।
‘मैले सामाजिक सुरक्षा कोष कार्यक्रम मिलाउने सोचेको थिएँ। स्वास्थ्य बिमालाई पनि त्यसै अनुसार राख्न सकिन्छ। स्वास्थ्य मन्त्रालयले त्यसका लागि खाका बनाएर ल्याओस्,’ उनले भने।
‘स्वास्थ्य मन्त्रालयले भन्न सक्नुप¥यो कि म यो तरिकाबाट व्यवस्थित गर्छु। कि स्वास्थ्य मन्त्रालयले बीमा श्रम मन्त्रालयलाई दिनुप¥यो। हामी राम्रो तरिकाले चलाउँछौँ। कि हामी दुवैले सक्दैनौँ। प्रधानमन्त्री या अर्थमन्त्रीलाई दिऊँ, त्यहाँबाट रकम आउँछ,’ उनले भने।
स्वास्थ्यकर्मी र अस्पतालका कारण तिर्नुपर्ने बक्यौता रकम बढेको उनको टिप्पणी थियो। बिमामा अव्यवस्था हुनुमा बीमा बोर्ड र स्वास्थ्य मन्त्रालय जिम्मेवार भएको उनको जिकिर थियो।
‘स्वास्थ्य बीमा स्वायत्त संस्था हो भन्ने स्वास्थ्य मन्त्रालयको सहसचिवको भरमा बीमा बोर्डको निर्णय रोकिन्छ,’ श्रममन्त्री साहले भने।
परिकल्पना अनुसारको बीमा चलाउन सकिँदैन भन्दै उनले बीमा बोर्डका पदाधिकारीलाई १० वर्षमा के गर्नुभयो भन्दै प्रश्न समेत गरे।
‘आफ्नै तरिकाले बीमा कार्यक्रमलाई अगाडि बढाउन नसक्ने, स्थापना भएको १० वर्षसम्म स्थायी संरचना बनाउन नसक्ने, कर्मचारी कति चाहिन्छ भनेर ‘ओएन्डएम’ सर्वे गर्न नसक्ने? न्यूनतम काम त गर्न सकिन्छ नि,’ उनले प्रश्न गरे।
बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकलाई तीन करोड नेपालीको स्वास्थ्यलाई हेरेर निर्णय गर्नुपर्ने उनले बताए।
श्रममन्त्री साहले बीमा बोर्डले बीमा कार्यक्रम चलाउन सधैँ सरकार र अर्थ मन्त्रालयले रकम नदिएको भन्दै दोष लगाउने गरेको भन्दै आपत्ति जनाए।
‘सबै अरुलाई दोष थोपरेर मात्र हुन्छ? सरकारले पैसा दिएन, अर्थ मन्त्रालयले दिएन भन्दै हिँड्ने, आफैँले सुधार गर्न नसक्ने, सधैँ ‘डम्फु’ मात्र बजाएर केही हुँदैन। बोर्डले काम नगर्ने अनि सरकारले पैसा दिएन भनेर दोष दिन बन्द गर्नुहोस्। सरकारले कसरी पैसा दिन सक्छ? आगामी आर्थिक वर्ष १२ अर्बको बजेट बनाइएको छ। १५ अर्ब तिर्नै बाँकी छ। कसरी सरकारले रकम दिन सक्छ,’ उनले भने।
अलग मन्त्रालयको कार्यक्रममा आएका श्रममन्त्री साह यतिमा मात्र रोकिएनन्। उनले कर्मचारीतन्त्रले काम गर्न रोकेको समेत आरोप लगाए।
‘पहिला देश नेताले बिगारेजस्तो लाग्थ्यो। अब मन्त्री बनेपछि थाहा पाएँ, देश त नेताले होइन कर्मचारीले पो बिगारेका रहेछन्,’ उनले भने, ‘नेतालाई घुमाउने काम बन्द गर्नुहोस्।’
उनले बोर्डका सदस्यहरूको भूमिकामाथि पनि प्रश्न उठाए।
‘बोर्डका सदस्यलाई कुन निर्णयमा हस्ताक्षर गरेको छु भन्ने पनि थाहा हुँदैन,’ आक्रोशित हुँदै उनले भने, ‘सदस्यलाई ‘रबर स्ट्याम्प’ बनाउने काम बन्द गर्नुहोस्। उनीहरूलाई पनि हरेक निर्णयमा जिम्मेवार र जवाफदेही बनाउनुहोस्।’
श्रममन्त्री साहले सदस्यको भूमिकामाथि प्रश्न उठाउनुको कारण स्वास्थ्य बीमा बोर्डमा उनकी श्रीमती जुनु श्रेष्ठ फेरि जान खोज्नु रहेको बोर्डका सदस्यहरू बताउँछन्।
२०८० सालमा बोर्ड सदस्यमा नियुक्ति पाएकी श्रेष्ठ १ वर्षदेखि बोर्ड बैठकमा जान छाडेपछि बोर्डले उनलाई सदस्य पदबाट हटाएको थियो। उनी पुनः स्वास्थ्य मन्त्रालय आउन चाहन्छिन्।
शक्तिको आडमा पुनः बोर्डको सदस्यमा जान खोजेपछि हाल विरोध भइरहेको छ।











