ओली र लेखक आज हाजिर जमानीमा रिहा हुने

२६ चैत्र २०८२, बिहीबार १०:२७

काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशपछि प्रहरी प्रशासनले उनीहरूलाई रिहा गर्ने प्रक्रिया अघि बढाएको हो।

सरकारी वकिलको सहमतिमा ‘आवश्यक परेका बेला उपस्थित हुने सर्तमा’ दुवै जनालाई हिरासतबाट मुक्त गर्ने निर्णय भएको जनाइएको छ। यससँगै उनीहरू अनुसन्धान प्रक्रियामा रहँदै बाहिर बस्न पाउने भएका छन्।

भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेपछि प्रहरी टोलीले चैत १४ गते उनीहरूलाई पक्राउ गरेको थियो। त्यसयता काठमाडौँ जिल्ला अदालतबाट पटक–पटक म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको थियो।

यसबीच बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद थप नगर्न आदेश दिएको थियो। अदालतले अनुसन्धान कार्य जारी राख्दै हिरासतबाहिरबाटै प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो।

सर्वोच्चको उक्त आदेशअनुसार काठमाडौँ जिल्ला अदालतबाट थप गरिएको तेस्रो म्याद बुधबारसम्मका लागि मात्र कायम रहेपछि प्रहरी प्रशासनले उनीहरूलाई रिहा गर्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*