६ महिनामा ‘फोनपे’ को व्यापार ६१ करोडः आईपीओ मार्फत थप विस्तारको तयारी, पायो ए माइनस रेटिङ

काठमाडौँ । ‘बुक बिल्डिङ’ विधिमार्फत आईपीओ निष्काशनको तयारीमा रहेको फोनपे पेमेन्ट सर्भिसले ६ महिनामा नै ६१ करोडमाथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को ६ महिनामा कम्पनीले ६१ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले यसअघि २०८१।०८२ मा ९७ करोड ४० लाख, २०८०।०८१ मा ७२ करोड ७० लाख, २०७९।०८० मा ४४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी रहेको कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढेको छ ।
फोनपे अक्टोबर २०१९ मा दर्ता भएको कम्पनी हो । यो कम्पनी एक भुक्तानी सेवा सञ्चालक (पीएसओ)को रूपमा सञ्चालन हुन्छ र नेपालमा डिजिटल अन्तरबैंक रकम स्थानान्तरण, अनलाइन भुक्तानी सेवा र पसलमा व्यापारी भुक्तानी (क्यूआर भुक्तानी) जस्ता सेवा प्रदान गर्दछ । कम्पनीलाई केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालकको रुपमा अनुमति दिएको छ ।
बजार उपस्थितिका हिसाबले क्यूआर कोड भुक्तानीमा करिब ९७ प्रतिशत र अन्तर–बैंक रकम स्थानान्तरणमा ८६ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीसँग ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था र करिब १७ लाख व्यवसायी आबद्ध छन् ।
सञ्चालन नाफा प्रतिशतमा पनि सुधार देखिन्छ । २०७९।०८० मा ८.४ प्रतिशत, आर्थिक वर्ष २०८०।०८१ मा ३९.३ प्रतिशत, आर्थिक वर्ष २०८१।०८२ मा ४७.४ प्रतिशत र चालु आर्थिक वर्षको ६ महिनामा मा ५१.६ प्रतिशत पुगेको छ ।

एफवान सफ्ट ग्रुपको बहुमत स्वामित्व रहेको फोनपे ऋणमुक्त कम्पनीका रूपमा रहेको छ । एफवान सफ्ट कम्पनीको ६६ प्रतिशत शेयरधनी हो । फोनपेले आफ्नो प्रविधि र साइबर सुरक्षा व्यवस्थापनमा पनि ध्यान दिएको छ। कम्पनीले आधुनिक प्रविधि अपनाउँदै सञ्चालन प्रक्रियामा सुधार ल्याएको छ र साइबर सुरक्षा जोखिम न्यून पार्न निरन्तर प्रयास गरिरहेको छ। यसले ग्राहकको विश्वास र सेवा निरन्तरता सुनिश्चित गर्न सहयोग गरेको छ ।कम्पनीको व्यापार मोडेल, विस्तृत नेटवर्क र वित्तीय मजबुतीले फोनपेलाई डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी कम्पनीको रूपमा स्थापित गरेको छ ।
कम्पनीलाई इक्रा नेपालले ‘ए माइनस’ स्तरको रेटिङ दिएको छ । यस रेटिङ अनुसार कम्पनीसँग आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको मानिन्छ र यसले कम क्रेडिट जोखिम बोकेको देखाउँछ । यो रेटिङ कुनै विशेष ऋण उपकरणको लागि नभई कम्पनीको समग्र वित्तीय स्थायित्व र विश्वसनीयताको सामान्य मूल्याङ्कन हो ।












