इरानले भन्योः ‘युद्धविरामका सर्त उल्लंघन भयो, अब वार्ताको अर्थ छैन’

२६ चैत्र २०८२, बिहीबार १३:२२

काठमाडौँ । इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौता उल्लंघन भएको आरोप लगाएको छ। इरानले विशेषगरी लेबननमा इजरायलद्वारा जारी आक्रमणलाई यस उल्लंघनको उदाहरणको रूपमा प्रस्तुत गरेको छ।

इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले जारी गरेको विज्ञप्तिमा दशबुँदे प्रस्तावका तीन सर्त अमेरिकाले तोडेको दाबी गरिएको छ। उनले अमेरिकाको बारम्बार प्रतिबद्धता उल्लंघन गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

विज्ञप्तिअनुसार अमेरिकी राष्ट्रपतिले इरानको दशबुँदे प्रस्तावलाई वार्ताको आधार मान्ने बताएका थिए। तर गालिफाफका अनुसार उक्त प्रस्तावका तीन अंश पहिले नै उल्लंघन भइसकेका छन्।

इरानले लेबननमा युद्धविराम लागू गर्ने सर्त पनि अमेरिकाले पालना नगरेको जनाएको छ। यसै सन्दर्भमा मध्यस्थकर्ता देश पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पनि लेबननसहित अन्य क्षेत्रमा तुरुन्त युद्धविराम लागू गर्नुपर्ने बताएका छन्।

गालिफाफले भनेका छन्, ‘वार्ताका लागि तय गरिएको प्रस्ताव नै छलफल सुरु हुनुअघि उल्लंघन भएको अवस्थामा दुईपक्षीय युद्धविराम वा वार्ताको कुनै अर्थ छैन।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*