पूर्वसभामुख महराका बाबुछोरा र भन्सार कर्मचारीविरुद्ध ७ करोड रुपैयाँभन्दाको भ्रष्टाचार मुद्दा

२६ चैत्र २०८२, बिहीबार १६:२५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित भन्सारका उच्च अधिकारी र अन्य व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुन तस्करहरूसँग मिलेमतो गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले ठूलो परिमाणमा राजस्व चुहावट गराएको भन्ने उजुरीका आधारमा गरिएको अनुसन्धानबाट उक्त तथ्य खुलेको आयोगले जनाएको छ।

आयोगका अनुसार २०७९ पुस १० गते दुबईबाट आएको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले दुई वटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए, जसमा सुन लुकाइएको थियो। प्रारम्भिक जाँचका क्रममा एक्स–रे स्क्रिनरले शङ्कास्पद वस्तु देखेर रेड च्यानलमा पठाए पनि त्यहाँ खटिएका कर्मचारीहरूले सुन भएको थाहा हुँदाहुँदै भौतिक जाँच नगरी पछि अनुकूल अवस्थामा सट्टापट्टा गर्ने उद्देश्यले जफत गर्ने निर्णय गरेको अनुसन्धानमा देखिएको छ।

जफत गरिएका सामग्रीहरू तोकिएको गोदाममा सुरक्षित नराखी तत्कालीन प्रमुख भन्सार अधिकृतको कार्यकक्षमै लामो समय राखिएको, सम्बन्धित व्यक्तिहरूसँग अस्वाभाविक सम्पर्क र भेटघाट गरिएको तथा मुख्य आरोपीलाई राहदानीसमेत फिर्ता दिई प्रमाण लोप गर्ने प्रयास गरिएको आयोगले उल्लेख गरेको छ। त्यसपछि ती सामग्री गोदाममा राखेपछि पनि सीसीटीभीले नदेख्ने स्थानमा सारेर सुन भएको भेप निकालेर सुन नभएको भेप राखिएको तथ्य पुष्टि भएको जनाइएको छ।

अनुसन्धानका क्रममा सुरक्षा गार्डसमेतको संलग्नतामा भेपबाट सुन निकालेर परीक्षण गर्दा उच्च परिमाणको सुन रहेको पुष्टि भएको र त्यसलाई गहनामा परिणत गरी बिक्री वितरण गरिएको खुलेको छ। उक्त कार्यमा संलग्न व्यक्तिहरूबीच समन्वय गरी अवैध रूपमा प्राप्त रकम विभिन्न व्यक्तिहरूको खातामा जम्मा गर्ने, जग्गा खरिदलगायत माध्यमबाट सम्पत्ति रूपान्तरण गर्ने कामसमेत भएको आयोगले जनाएको छ।

आयोगले कुल ८४८० ग्रामभन्दा बढी सुन बराबरको सात करोड ७८ लाख ६८ हजार रुपैयाँभन्दा बढीको हिनामिना भएको निष्कर्ष निकालेको छ। सो प्रकरणमा तत्कालीन प्रमुख भन्सार प्रशासकदेखि नायब सुब्बासम्मका कर्मचारी तथा व्यापारी, विदेशी नागरिकलगायतलाई प्रतिवादी बनाइएको छ।

AQvOIH

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*