तरकारीमा किसान मार्ने बिचौलिया तह लगाउँदै सरकार, कालीमाटीमा देखियो यस्तो अनियमितता

काठमाडौँ । तरकारी बजारमा किसानको मूल्य घटाउने र उपभोक्तालाई महँगो पार्ने बिचौलिया प्रवृत्तिलाई नियन्त्रण गर्ने तयारीमा सरकार जुटेको छ । यही सन्दर्भमा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीको टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारमा आकस्मिक अनुगमन गरेको हो ।
बजार व्यवस्थापनप्रति गुनासो बढेपछि गरिएको निरीक्षणमा दर्ता भएका व्यवसायीको नाममा अन्य व्यक्तिले पसल सञ्चालन गरिरहेको पाइएको छ । इजाजतपत्र लिएका व्यवसायी स्वयं अनुपस्थित रहने र पसल तेस्रो पक्षलाई भाडामा दिने प्रवृत्ति व्यापक रहेको देखिएको मन्त्रालयले जनाएको छ ।
अनुगमनका क्रममा विषादी परीक्षणबिना तरकारी बिक्री भइरहेको, बिलविजकमा पारदर्शिता नदेखिएको तथा नवीकरण नगरेका इजाजतपत्रका आधारमा समेत व्यापार सञ्चालन भइरहेको भेटिएको छ । यसले किसानबाट सस्तोमा खरिद गरी उपभोक्तालाई महँगोमा बिक्री गर्ने बिचौलिया संरचनालाई थप बल दिएको निष्कर्ष निकालिएको छ ।
थोक बजारका विभिन्न स्टलहरूमा एउटै दर्तामा दुईदेखि तीन जनासम्मले कारोबार गरिरहेको अवस्था पनि उजागर भएको छ । यसले बजार प्रणालीमा अनियमितता र अस्वस्थ प्रतिस्पर्धा बढाएको अधिकारीहरूको भनाइ छ ।
माछा बजारमा समेत उस्तै अवस्था देखिएको छ । केही व्यापारीले आपूर्तिकर्ताबाट ल्याइएको माछा सोही स्थानमा थोक रूपमा बिक्री गर्दा बिलविजकमा अनियमितता गरेको पाइएको छ ।
अनुगमनपछि मन्त्री चौधरीले बजारमा देखिएका सबै प्रकारका विकृति र बिचौलिया प्रभाव नियन्त्रण गर्न कडाइका साथ कदम चालिने स्पष्ट पारेकी छन् । किसान र उपभोक्ताको हित विपरीत हुने गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायलाई तत्काल सुधारका लागि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।











