वस्तुमा एमआरपी र लेबल अनिवार्य गर्न निर्देशन, अन्यथा कारवाही गरिने चेतावनी

२७ चैत्र २०८२, शुक्रबार ०९:४०

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा वस्तुको मूल्य पारदर्शी बनाउन ‘अधिकतम खुद्रा मूल्य (एमआरपी)’ अनिवार्य रूपमा लागू गर्न सबै सरोकारवालालाई कडा निर्देशन दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले चैत २६ गते एक सूचना जारी गर्दै आयातकर्ता, उत्पादक, बिक्रेता तथा उपभोक्ता सबैले निश्चित जिम्मेवारी पालना गर्नुपर्ने उल्लेख गरेको हो। विभागका अनुसार अब विदेशबाट आयात हुने वस्तुमा भन्सार बिन्दुमै एमआरपी उल्लेख भएको लेबल अनिवार्य रूपमा राख्नुपर्नेछ। यसका लागि भन्सार विभागसँग सहजीकरण तथा अनुगमनका लागि अनुरोध गरिएको विभागले जनाएको छ।

त्यस्तै स्वदेशी उत्पादकले उत्पादनकै क्रममा प्याकेजिङमा मूल्य, ब्याच नम्बर, तौल तथा उपभोग म्याद स्पष्ट देखिने गरी स्थायी लेबल राख्न निर्देशन दिइएको छ। यसका लागि उद्योग विभागलाई समेत आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

बिक्रेता (थोक तथा खुद्रा) ले स्पष्ट लेबल र एमआरपी नभएका कुनै पनि सामान खरिद–बिक्री गर्न नपाउने तथा लेबलमा उल्लेख गरिएको मूल्यभन्दा बढीमा बिक्री गर्न पूर्ण रूपमा निषेध गरिएको जनाएको छ। विभागले उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्दै कुनै पनि वस्तु खरिद गर्दा एमआरपी, उपभोग म्याद लगायत विवरण अनिवार्य रूपमा जाँच गर्न सुझाव दिएको छ।

यसैबीच उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिइएको उल्लेख गर्दै प्रभावकारी अनुगमन गर्न निर्देशन दिइएको छ। विभागले बजार अनुगमनलाई तीव्र बनाइसकेको जनाउँदै एमआरपी बिना बिक्री गर्ने वा बढी मूल्य असुल्ने व्यवसायीलाई प्रचलित कानूनअनुसार कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*