अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब २५ अर्ब निक्षेप खिच्दै

२७ चैत्र २०८२, शुक्रबार ११:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। नयाँ सरकार गठन भएको करिब दुई साता बित्न लाग्दा समेत बजारमा अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो।

लामो समयदेखि आर्थिक गतिविधि शिथिल रहँदै आएको अवस्थामा पछिल्लो समय देखिएको जेनजी आन्दोलनका कारण समेत बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह अपेक्षाकृत बढ्न सकेको छैन। तत्काल कर्जा विस्तार हुने सम्भावना न्यून देखेपछि बैंकहरूले निक्षेप वृद्धिमा खासै रुचि नदेखाउँदै ब्याजदर घटाएर मुद्दती निक्षेपलाई समेत निरुत्साहित गरिरहेका छन्।

हाल कुल निक्षेप ७८ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन र ब्याजदरलाई सन्तुलित राख्न नेपाल राष्ट्र बैंक ले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत निरन्तर तरलता प्रशोधन गर्दै आएको छ।

यसपटकको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाले प्रस्ताव गरेका ब्याजदरमध्ये सबैभन्दा कम दर प्रस्ताव गर्नेहरूलाई प्राथमिकतामा राख्दै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिने व्यवस्था गरिएको छ।

बोलकबोल प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत सञ्चालन हुनेछ र ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोलकै आधारमा निर्धारण गरिनेछ। आज संकलन हुने निक्षेपको सावाँ तथा ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान रकमसम्म रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*