‘अभिकर्ताहरुको एकता आजको आवश्यकता’ भन्ने मूल नारासहित बीमा अभिकर्ता संघको आठौँ राष्ट्रिय महाधिवेशन सुरू

२७ चैत्र २०८२, शुक्रबार १४:३१

काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल (राष्ट्रिय ट्रेड युनियन संघ) को आठौँ राष्ट्रिय महाधिवेशन (साविक तेस्रो) शुक्रबारदेखि बसुन्धरामा भव्य रुपमा सुरू भएको छ । ‘अभिकर्ताहरुको एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महाधिवेशनले देशभर छरिएर रहेका बीमा अभिकर्ताहरुको उपस्थिति रहेको हो ।

संघका अध्यक्ष केदारनाथ अधिकारीको नेतृत्वमा सुरु भएको यस महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष नारायण दाहाल र महासचिव ओम बहादुर खत्री लगायतका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको छ । महाधिवेशनमा देशभरका बीमा कम्पनीसँग आबद्ध अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको उपस्थिति रहेको थियो । साथै, जीवन बीमक संघ नेपालका अध्यक्ष तथा नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुली, हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार तथा रिलायबल नेपाल लाइफका डेपुटी सीईओ दिपेशबाबु तिवारी उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुवेदीले बीमा अभिकर्ताहरूले आम नागरिकको सम्पत्ति, दायित्व र जीवन सुरक्षाको प्रत्याभूति गर्ने अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले बीमा क्षेत्रलाई नेपालको सेवा क्षेत्रभित्र सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एकका रूपमा उल्लेख गर्दै यसलाई थप सुदृढ, विश्वसनीय र पहुँचयुक्त बनाउन सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे । ‘बीमा क्षेत्रलाई ऊर्जाशील बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्छ, प्राधिकरण सधैँ साथमा रहनेछ’ उनले भने ।

त्यस्तै, जीवन बीमक संघ नेपालका अध्यक्ष पराजुलीले बीमा अभिकर्ता पेशालाई संगठित र मर्यादित बनाउन यस्ता महाधिवेशनहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले अभिकर्ताहरूबीच एकता कायम गर्दै पेशालाई थप व्यवस्थित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए । साथै, बीमा क्षेत्रप्रति युवापुस्ताको आकर्षण बढाउन विशेष पहल आवश्यक रहेको उनको भनाइ थियो ।

पराजुलीले नेपालको ठूलो जनसंख्या हुँदाहुँदै पनि अझै पर्याप्त नागरिक बीमाको पहुँचमा आउन नसकेको तथ्य औंल्याउँदै बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । उनले अभिकर्ताहरूलाईबीमाको महत्व बुझाउन र आम नागरिकलाई बीमाको दायरामा ल्याउन सक्रिय भूमिका खेल्न आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*