पुँजी बजार १३ अकंले घट्योः कारोबार ९ अर्ब, गिरावट चलखेल कि करेक्सन ?

काठमाडौँ । लगातार दुई दिन हरियाली देखिएको शेयर बजारमा आज भने करेक्सन देखिएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिएसँगै शुक्रबार खुलेको बजारमा गिरावट आएको हो । पछिल्ला दुई दिन लगातार सूचक बढेपछि बजार स्वाभाविक रूपमा करेक्सनतर्फ गएको लगानीकर्ताहरूको विश्लेषण छ । यसलाई धेरैले अस्वाभाविक गिरावट नभई बजार सन्तुलनको प्रक्रिया भन्दै व्याख्या गरेका छन् ।
बजार बढेका दुई दिनपछि आज धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्ने (प्रफिट बुकिङ) रणनीति अपनाउँदा बिक्री चाप बढेको देखिएको छ । छोटो समयमै सूचक उकालो लागेपछि केही लगानीकर्ताहरूले जोखिम घटाउन शेयर बिक्री गरेको कारण बजारमा दबाब परेको हो । यद्यपि बजार सहभागीहरूका अनुसार यस्तो करेक्सन दीर्घकालीन रूपमा बजारलाई अझ स्वस्थ र दिगो बनाउन सहयोगी हुने विश्वास गरिएको छ ।
यसैबीच, अहिलेको बजार अवस्थालाई धेरै लगानीकर्ताले खरिद अवसरका रूपमा समेत लिएका छन् । स्थायी सरकार, नीतिगत स्थिरता, बैंक ब्याजदरमा आएको कमी र अर्थतन्त्रप्रति सकारात्मक संकेतहरूले दीर्घकालीन रूपमा बजार बुलिश हुने अपेक्षा बढाएको छ । लगानीकर्ताहरूले आधारभूत पक्षहरू बलियो बन्दै गएको भन्दै बजारप्रति विश्वास कायम राखेका छन् ।
उता अर्थमन्त्रीले शेयर बजारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी आशंका नरहेको स्पष्ट पारेपछि लगानीकर्ताको मनोबल थप मजबुत भएको देखिन्छ । सरकार बजारप्रति संवेदनशील र सकारात्मक रहेको सन्देशले पनि लगानीकर्तामा उत्साह थपिएको छ । यही विश्वासका आधारमा आगामी दिनमा बजार फेरि उकालो यात्रामा फर्किने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४६ अकंले घटेर २८३७.७७ बिन्दुमा कायम भएकोछ । आज ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.६७ प्रतिशत, फाइनान्स समू्हको ०.६० प्रतिशतले शेयर मूल्य घटेको छ ।

शुक्रबार ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको घटेकोछ । २ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
नेशनल हाईड्रोपावर सहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार ?











