महासंघको निर्वाचन विवाद चुलियोः कालो ब्यानरमा १८ वटा संस्थाको ‘पत्रकार सम्मेलन’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ भित्रको आन्तरिक विवाद चर्किँदै अदालतसम्म पुगेको अवस्थामा १८ वटा संघ तथा महासंघ (वस्तुगत सदस्य) हरूले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरेका छन्। उनीहरूले आफूहरूलाई ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियाबाट बाहिर राख्न खोजिएको आरोप लगाउँदै पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सहभागी संघ–संस्थाहरूले कालो ब्यानर प्रदर्शन गर्दै महासंघ नेतृत्वप्रति गम्भीर आपत्ति जनाए। २०८२ साल पौष १६ गते अदालतले सदस्यता सम्बन्धी विषयमा १५ दिनभित्र पुनः निर्णय गर्न स्पष्ट आदेश दिएको थियो। तर, सो आदेश हालसम्म कार्यान्वयन नगरिएको र उल्टै आफूहरूलाई साधारणसभा तथा निर्वाचन प्रक्रियामा सहभागी हुनबाट वञ्चित गर्न खोजिएको आरोप लगाइएको छ।
पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरूले महासंघले विधि र प्रक्रिया मिच्दै अघि बढेको बताएका छन्। उनीहरूले महासंघ नेतृत्वसँग तत्काल अदालतको आदेश कार्यान्वयन गर्न, सदस्यताको विवाद समाधान गर्न र सबै सदस्यलाई समान अवसरसहित साधारणसभा तथा निर्वाचन प्रक्रियामा सहभागी गराउन माग गरेका छन्। अन्यथा, थप कानुनी तथा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएका छन्।











