लघुवित्त क्षेत्रमा ठूलो एकीकरण: जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौँ । लघुवित्त क्षेत्रमा पछिल्लो समय एकीकरणको लहर तीव्र बन्दै जाँदा तीन संस्थाबीच महत्वपूर्ण सहमति भएको छ। जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तबीच शनिबार त्रिपक्षीय मर्जर सम्झौता सम्पन्न भएको हो।
यसअघि जीवन विकास र युनिक नेपालबीच मात्र मर्जरको प्रारम्भिक सहमति भएकोमा अब मानुषी लघुवित्त पनि सोही प्रक्रियामा समेटिएको हो ।
सम्झौतापछि तीनवटै संस्थाले आफ्नो छुट्टाछुट्टै संरचना अन्त्य गर्दै एकीकृत संस्थाका रूपमा अघि बढ्ने तयारी गरेका छन्। लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, पूँजी सुदृढीकरणको आवश्यकता तथा नियामकीय दबाबका कारण संस्थाहरू एकीकृत हुने क्रम पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको छ।
जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय मोरङको कटहरीमा अवस्थित छ भने युनिक नेपाल लघुवित्त बाँकेको कोहलपुरबाट सञ्चालन हुँदै आएको छ। मानुषी लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहेको छ।
पूँजी संरचनाको हिसाबले जीवन विकास लघुवित्त तुलनात्मक रूपमा बलियो देखिन्छ, जसको चुक्ता पुँजी हाल करिब १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी करिब १४ करोड ८५ लाख रुपैयाँ र मानुषी लघुवित्तको करिब १० करोड ९३ लाख रुपैयाँ रहेको छ।











