नारायणगढ–बुटवल सडक विस्तारमा तीव्रता दिन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्डको विस्तार कार्यमा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका छन्। आइतबार दाउन्ने सडक खण्डको स्थलगत अवलोकन गर्दै उनले निर्माण कार्यलाई तत्काल तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिएका हुन्।
सडकको दयनीय अवस्थाका कारण लामो समयदेखि यात्रु तथा स्थानीयवासीले सास्ती खेप्दै आएको गुनासो बढ्दै गएपछि मन्त्री गुरुङ आफैं स्थलगत रूपमा वस्तुस्थिति बुझ्न पुगेका थिए। निरीक्षणका क्रममा उनले निर्माण कम्पनीका प्रतिनिधि तथा आयोजना कार्यालयका सरोकारवालाहरूलाई सँगै राखेर कामको ढिलाइबारे स्पष्ट जवाफ मागेका थिए।
सो अवसरमा आयोजना पक्षका अधिकारीहरूले हालसम्मको प्रगति, निर्माणका क्रममा देखिएका प्राविधिक समस्या तथा चुनौतीबारे मन्त्रीलाई जानकारी गराएका थिए। जवाफ सुनेपछि गृहमन्त्री गुरुङले सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरणमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै निर्माण कम्पनीले भने परिणाम देखाउनैपर्नेमा जोड दिएका थिए।











