सिंहदरबारमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

३० चैत्र २०८२, सोमबार १२:१८

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र आसपास क्षेत्रमा इन्टरनेट सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ। यसका लागि मन्त्रालयले सो क्षेत्रको पूर्वाधार व्यवस्थापन हेर्ने एकीकृत डाटा व्यवस्थापन केन्द्रलाई आवश्यक निर्देशन समेत दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईसँग मन्त्रालयमा भएको छलफलका क्रममा सिंहदरबारभित्रका सबै सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। उनले इन्टरनेट सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नहुने स्पष्ट पार्दै सेवा प्रदायक तथा सम्बन्धित निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।

छलफलका क्रममा मन्त्री तिमिल्सिनाले सम्भावित समस्या पहिचान गरी समयमै समाधान गर्नुपर्नेमा विशेष जोड दिएका थिए। उनले सबै निकायलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गर्दै सहकार्य, समन्वय र नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन्। डिजिटल सेवाको गुणस्तर सुधार नगरी प्रभावकारी प्रशासन सम्भव नहुने उल्लेख गर्दै प्रविधिमा आधारित सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।

यसैक्रममा प्राविधिक तथा मानवीय त्रुटिका कारण सेवा अवरुद्ध हुनसक्ने भएकाले दक्ष जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि निर्देशन दिइएको छ। मन्त्री तिमिल्सिनाले नेपाल टेलिकमबाट दक्ष प्राविधिक टोली परिचालन गरी सम्भावित समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

छलफलमा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख भट्टराईले सिंहदरबारभित्र इन्टरनेट सेवाको वर्तमान अवस्थाबारे जानकारी दिएका थिए। उनका अनुसार हाल केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीं सम्पर्क टुट्ने समस्या देखिएको छ। यस्तो समस्या दोहोरिन नदिन आवश्यक प्राविधिक सुधार तथा व्यवस्थापनका उपायहरू अवलम्बन गरिएको उनले बताएका छन्।

उनका अनुसार हाल सिंहदरबारभित्र नेपाल टेलिकम मार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा रहेको छ भने ‘जी–क्लाउड’ प्रणालीका लागि २५० एमबिपिएस क्षमताको अतिरिक्त इन्टरनेट प्रयोग भइरहेको छ। इन्टरनेट सेवामा देखिने समस्या प्रायः अप्टिकल फाइबरमा हुने अवरोधका कारण उत्पन्न हुने गरेको उनले बताएका छन्। विशेषगरी सडक तथा पूर्वाधार निर्माणका क्रममा फाइबर काटिने वा क्षति पुग्ने समस्या बारम्बार देखिने गरेको उनको भनाइ छ।

दीर्घकालीन समाधानका लागि अप्टिकल फाइबरलाई जमिनमुनिबाट व्यवस्थित रूपमा बिछ्याउनुपर्ने आवश्यकता उनले औंल्याएका छन्। पहिले सिंहदरबार क्षेत्रमा एक लाइन अवरुद्ध हुँदा वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने व्यवस्था भए पनि हाल उक्त प्रणाली केही कमजोर बनेको उल्लेख गर्दै त्यसलाई पुनः सुदृढ बनाउने प्रयास भइरहेको उनले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*