फेसबुक, इन्स्टाग्राम र युट्युब खतरानाथ सामाजिक सञ्जालको लत रहेको अदालतको ठहर, ८९ करोड क्षतिपूर्ति तिर्न आदेश

३० चैत्र २०८२, सोमबार १६:०८

काठमाडौँ । दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका सामाजिक सञ्जालमाथि गम्भीर प्रश्न उठाउने एउटा महत्वपूर्ण फैसला सार्वजनिक भएको छ । अमेरिकाको लस एन्जलस सुपेरियर अदालत अन्तर्गतको जुरीले मेटा प्लेटफर्म्स (फेसबुक र इन्स्टाग्राम) तथा युट्युबलाई प्रयोगकर्तामा लत विकास गराउने डिजाइनका कारण जिम्मेवार ठहर गरेको हो ।

फैसलाअनुसार ती प्लेटफर्महरूले आफ्ना सेवाहरू प्रयोगकर्तालाई लामो समयसम्म बाँधिराख्ने उद्देश्यले संरचना तयार पारेको र त्यसका सम्भावित जोखिमबारे पर्याप्त जानकारी नदिएको निष्कर्ष निकालिएको छ । अदालतले पीडितलाई करिब ६० लाख अमेरिकी डलर (८९ करोड नेपाली रुपैयाँ) बराबरको क्षतिपूर्ति दिन आदेश दिएको छ जसमा मेटाले (७० प्रतिशत) ठूलो हिस्सा वहन गर्नुपर्ने ठहर गरिएको छ भने बाँकी (३० प्रतिशत) रकम युट्युबले तिर्नुपर्नेछ ।

यो मुद्दा एक युवतीले दायर गरेकी थिइन् । सानै उमेरदेखि सामाजिक सञ्जाल प्रयोग गर्दा मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको दाबी उनले गरेकी थिइन् । उनका कानुनी प्रतिनिधिहरूले निरन्तर स्क्रोल गर्ने सुविधा र स्वतः भिडियो चल्ने प्रविधि जस्ता विशेषताहरू जानाजानी प्रयोगकर्तालाई प्लेटफर्ममै अड्याइराख्ने गरी बनाइएको तर्क अघि सारेका थिए ।

मुद्दामा संलग्न अन्य प्लेटफर्महरू जस्तै टिकटक र स्न्यापच्याट भने अदालत बाहिरै मिलापत्रमा पुगेका थिए । तर मुख्य प्रतिवादी बनेका मेटा र युट्युबले भने फैसलाप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने संकेत दिएका छन् । मेटाले मानसिक स्वास्थ्य विभिन्न कारणले प्रभावित हुने दाबी गर्दै आफ्ना सुरक्षा उपायहरू पर्याप्त रहेको बताएको छ भने युट्युबले पनि आफ्ना सेवा स्वभावतः हानिकारक नभएको जनाएको छ ।

यसैक्रममा, मेटाका प्रमुख मार्क जकरबर्ग र इन्स्टाग्राम प्रमुख एडम मोसेरी स्वयं अदालतमा उपस्थित भएर बयान दिएका थिए ।

यो फैसला प्रविधि उद्योगका लागि एउटा महत्वपूर्ण मोड बन्न सक्छ । लामो समयदेखि आलोचनाको केन्द्रमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूमाथि अब कानुनी तथा नियामकीय दबाब थप बढ्ने संकेत देखिएको छ । अमेरिकामा मात्र हजारौँ यस्ता मुद्दाहरू दर्ता भइसकेका छन् भने युरोपेली मुलुकहरूमा पनि बालबालिकामा पर्ने मनोवैज्ञानिक असरबारे चिन्ता बढ्दै गएको छ ।

यसअघि पनि अमेरिकाकै अर्को अदालतले मेटालाई बालबालिकाको सुरक्षामा कमजोरी देखाएको भन्दै ठूलो जरिवाना तिर्न आदेश दिएको थियो । यी निर्णयहरूले आगामी दिनमा प्रविधि कम्पनीहरूको सञ्चालन शैली, नीति र जिम्मेवारीका विषयमा व्यापक बहस सिर्जना गर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*