‘सम्पत्ति होइन, स्रोत देखाऊ’: मन्त्रीहरूविरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन

३० चैत्र २०८२, सोमबार १६:५१

काठमाडौं । अखिल क्रान्तिकारीले मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ। सोमबार माइतीघर क्षेत्रमा भेला भएका विद्यार्थीहरूले हालै सार्वजनिक गरिएको सम्पत्ति विवरणको वैध स्रोत खुलाउन सरकारसँग माग गरेका हुन्।

उनीहरूले मन्त्रीहरूले देखाएको सम्पत्ति अस्वाभाविक रहेको दाबी गर्दै त्यसको छानबिन गर्नुपर्ने बताएका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले आयस्रोत खुलाऊ, मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्तिको स्रोत छानविन गर, हामी चुप लाग्दैनौं, आयस्रोत खुलाउनै पर्छ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। साथै सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री लगायतका नाराले सरकारप्रति असन्तुष्टि व्यक्त गरिएको थियो।

विद्यार्थी संगठनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका सदस्यहरूको सम्पत्ति विवरण पारदर्शी नभएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग अघि सारेको छ। उनीहरू संसदमा प्रतिपक्ष कमजोर भएकाले जनताको आवाज उठाउन सडक संघर्षमार्फत प्रतिपक्षको भूमिका निर्वाह गर्न बाध्य भएको बताएका छन्।

यसअघि आइतबार प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*