२२ लाख राजस्व हिनामिना प्रकरणमा गुराँस गाउँपालिकाका तत्कालीन अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ढुङ्गा, बालुवा तथा गिट्टी उत्खननको ठेक्कामा करिब २२ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ को उक्त ठेक्कामा प्रमुख प्रशासकीय अधिकृत आचार्य र आर.के. कन्स्ट्रक्सनका सञ्चालक कार्कीबीचको मिलेमतोमा बैंक ग्यारेन्टी नलिई तथा नियमअनुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी सम्झौता गरिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।
सम्झौताअनुसार बुझाउनुपर्ने रकम तथा राजस्व सरकारलाई नबुझाई गाउँपालिकालाई आर्थिक हानी नोक्सानी पुर्याएको पुष्टि भएपछि उनीहरूलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
अख्तियारले दुवै प्रतिवादीसँग जनही २२ लाख ४४ हजार ५०० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगोअनुसार जरिवाना र कैद सजायको मागदाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
ScJorz










